Logo

भागवत मन्जरी राधिका दासी : समाजसेवाको नमुना



मंसिर ९, काठमाण्डौ । मोरङमा जन्मिएकी भागवत मन्जरी राधिका दासीको समाजसेवा जोकोहीका लागि प्रेरणा बन्न सक्छ ।

प्रदेश नम्बर एक इटहरीमा केन्द्रिय कार्यालय रहेको माया घरकी संस्थापक तथा अध्यक्ष राधिकाले उक्त घरमा अहिले १२५ जनालाई आश्रय दिइरहेकी छिन् । आफू पनि माया घरमै बस्दै आएकी राधिकाले बेसाहारा जोकोही व्यक्तिको संरक्षण गर्दै आएकी छिन् ।

माया घरको प्रदेश एकको धरान र प्रदेश दुईको बर्दिवासमा पनि शाखा संचालन गरेकी राधिकाले संरक्षण दिएका १ सय २५ जनामध्ये ८० प्रतिशत त मानसिक रोगी छन् । तर पनि उनले उनीहरुको खानपानदेखि स्वास्थ्य उपचारसम्मको जिम्मेवारी बहन गरेकी छिन् ।

भागवत मन्जरी राधिका दासी

उनकै पहलमा अहिले प्रदेश दुईमा सडक मानव भेट्न मुस्किल छ । प्रदेश सरकारलेसमेत सडक मानवलाई माया घरको जिम्मा लगाउने गरेको राधिका बताउँछिन् ।

२०७४ सालमा स्थापना भएको माया घर संचालन मात्रै होइन, राधिका भागवत बाचिकासमेत हुन् । भागवत बाचनबाट संकलित रकमलाई उनले माया घर संचालन खर्चमा प्रयोग गर्दै आएकी छिन् ।

“केही स्थानीय संघ संस्थाहरुको सहयोग आउने गरेको छ । प्रदेश सरकारको केही सहयोग छ । तर यसरी माया घर संचालन गर्न पुगेको छैन ।” राधिका बताउँछिन् ।

माया घरलाई जन्मदिन, विवाह जस्ता कार्यबाट पैसा जोगाएर सहयोग गर्नेहरुको पैसा पनि आउने गरेको छ । तर पनि अहिले ऋणमा चलिरहेको राधिका बताउँछिन् ।

उनले सहयोग मनहरुले साथ दिने विश्वासका साथ माया घर संचालन गरिरहेको बताउँदै सहयोगका लागि आग्रहसमेत गरिन् । साथै प्रदेश सरकारले पनि माया घरलाई सहयोग बढाइदिए हून्थ्यो भन्ने उनको अपेक्षा छ ।

एकातिर माया घर, अर्कोतिर भागवत बाचन । यो कसरी सम्भव भयो त भन्ने प्रश्नमा राधिका भन्छिन्–“वृन्दावन घुम्न जाँदा गुरुदेवले सत्मार्ग देखाएपछि धर्मतर्फ आकर्षण भएँ । परिवार पनि धार्मिक भएकाले प्रेरणा मिल्यो । अहिले पनि परिवारको समर्थन छ ।”

कोरोना महामारीमा पनि माया घरमा रहेका व्यक्तिहरुको व्यवस्थापन गर्न सफल राधिकाले अहिलेसम्म १ हजार व्यक्तिलाई त परिवारको जिम्मा लगाइसकेकी छिन् ।

यसरी सहयोग गरेपछि पाउने प्रतिक्रिया नै आफ्ना लागि प्रेरणा हुने गरेको उनको अनुभव छ । कतिपय माया घरमै जन्मिएका छन्, कतिपयको त्यहीँबाट विवाह गरिदिएकी छनु । खुशी हुँदै राधिकाले भनिन् ।

चुनौति त जब हुन्छ तब सडकमा बेवारिसे गर्भवति महिलाहरु भेछिन्छन् । तर तिनीहरुको पनि स्वास्थ्य उपचारदेखि खानपानसम्मको व्यवस्थापन उनले गर्ने गरेकी छिन् ।

आफू भित्रको उर्जा र सहयोगी भावनाले माया घर संचालन गर्दै आएकी राधिकाले आर्थिक स्रोत जुटाउन भने निकै सकस परेकाले सहयोगी मनहरुसँग सक्दो सहयोग गर्न आग्रह गरिन् ।

 



प्रतिक्रिया दिनुहोस्