Logo

चीनले चन्द्रमा र मङ्गल ग्रहमा मानव पठाउने



एजेन्सी, ९ मंसिर । सन् १९५७ मा सोभियत युनीयनले स्पुतनिक अन्तरीक्षयान प्रक्षेपण गर्दा चीनका तत्कालिननेता माओत्से तुङले आफूहरुले पनि चाँडै भू-उपग्रह बनाउने बताएका थिए । माओले त्यसो भनेपनि चीनलाई भूउपग्रह बनाउन १३ वर्ष लाग्यो । सन् १९७० मा चीनले पहिलो भूउपग्रह प्रक्षेपण गर्यो ।

चीनलाई मानवसहितको अन्तरीक्षयान विकास गर्न अर्को ३३ वर्ष लाग्यो । सन् २००३ मा याङ इवी अन्तरीक्षमा पुग्ने पहिलो चिनियाँ अन्तरीक्षयात्री बने । सेन्जोउ फाइभ यानबाट उनले २१ घन्टा लामो यात्रामा पृथ्वीलाई १४ पटक परिक्रमा गरेका थिए । त्यसपछि चीनले महिला र पुरुष अन्तरीक्षयात्री दुवैलाई सफलतापूर्वक पठायो ।

चीनले अमेरिका र रुसले जस्तै अन्तरीक्ष केन्द्र बनाउन प्रयत्नरत छ । उसले एकपछि अर्को अन्तरीक्षयान प्रक्षेपण गरिरहेको छ । अन्तरीक्षमा वैज्ञानिक परीक्षणहरु पनि गर्न थालेको छ ।

चन्द्रमा चीनले आधार निर्माण गर्ने योजना बनाइरहेको छ । सन् २०२९ मा चन्द्रमामा मानिस पठाउने योजना बनाएको छ ।

चीनले सन् २०१९ को जनवरीमा चाङ इ फो नामको रोबोटलाई चन्द्रमामा सफलतापूर्वक अवतरण गरायो । चन्द्रमाको टाढाको भागमा उक्त यान अवतरण भयो । यो चीनको अन्तरीक्ष सपनामा महत्वपूर्ण सफलता थियो ।

चीनले अब मङ्गल ग्रहमा समेत यान पठाउने तयारी गरिरहेको छ । उसले उक्त ग्रहमा पनि मानव पाइला पार्ने लक्ष्यसहित काम गरिरहेको छ ।

अन्तरीक्षको मिसनका लागि चीनले अरबौं डलर खर्च गरिरहेको छ । विश्व शक्ति बन्ने प्रतिस्पर्धामा रहेको चीनले अन्तरीक्षमा विभिन्न मिसनबाट आफ्नो शक्ति अझ विस्तार गर्दै लगेको छ । उसको मानवसहितको यान चन्द्रमा र त्यसपछि मङ्गल ग्रहमा पठाउने लक्ष्यसँगै अन्तरीक्षमा महत्वाकांक्षी योजनाहरु देखिदै गएको छ ।
तस्बिर स्रोत एजेन्सी



प्रतिक्रिया दिनुहोस्