Logo

सुरभि साहित्य प्रतिष्ठानले विभिन्न स्रष्टाहरुलाई पुरस्कृत गर्ने



काठमाडौं, १० मंसिर । सुरभि साहित्य प्रतिष्ठानको आज (बुधवार) को बैठकले विभिन्न स्रष्टाहरुलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । प्रतिष्ठानको स्थापना दिवसको सन्दर्भमा प्रदान गरिने पुरस्कारहरुका लागि स्रष्टाहरु छनौट गरिएको हो । जसअनुसार सुरभि–बाजुराम आख्यान साधना पुरस्कार माधव भण्डारीलाई प्रदान गरिने भएको छ ।

सुरभि आख्यान पुरस्कार तेजप्रकाश श्रेष्ठलाई प्रदान गरिने प्रतिष्ठानले जनाएको छ । यी दुवै पुरस्कारको राशी २०–२० हजार रुपैया रहेको छ । त्यस्तै १० हजार रुपैया राशीको सुलेख आख्यान प्रतिभा पुरस्कार गोपाल अश्क र ७ हजार रुपैया राशीको सुरभि–प्रह्लाद नारीस्रष्टा आख्यान पुरस्कार समिना खनाल ‘पृथा’लाई प्रदान गरिने प्रतिष्ठानको विज्ञप्तिमा जनाइएको छ ।

५ हजार रुपैया राशीको सुरभि–वेदमणि आख्यान वाचन पुरस्कार वर्षा खड्कालाई प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलले जानकारी दिनुभयो । २०७६ का लागि घोषित यी पुरस्कारहरु २०७७ माघको तेस्रो शनिवार प्रदान गरिने पौडेलले बताउनुभयो । प्रतिष्ठानले प्रत्येक महिनाको तेस्रो शनिवार विविध साहित्यिक कार्यक्रम संचालन गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस्