Logo

म्याराडोनाः विचारमा लेफ्ट भएपनि सर्वप्रीय



दीपेश केसीः सामरिक र स्रोतका दृष्टिले महत्वपूर्ण फकल्याण्ड टापूका लागि बेलायत र अर्जेन्टिनाबीच सन् १९८२ मा युद्ध भयो । फकल्याण्डमाथि दाबी जनाएको अर्जेन्टिनाले टापुमा कब्जा जमाएलगत्तै बेलायतले बल प्रयोग गरेर अर्जेन्टिनेली सेनालाई धपाएको थियो । युद्धपछि दुई देशबीचको सम्बन्ध भन् तनावग्रस्त बन्यो । युद्धको जन्माएको आक्रोश नमेटिदै अर्जेन्टिना र इंग्ल्याण्ड विश्वकप फुटबलमा भिड्ने अवस्थामा पुगे ।

विश्वकै ध्यान खिच्ने गरी क्वार्टरफाइनलमा दुवै देश भिड्दाको अवस्था विशेष महत्वको हुने अपेक्षा गरिएको थियो । २२ जून सन् १९८६ मा मेक्सिको सिटीस्थित एजटेक रङ्गशालामा इंग्ल्याण्डविरुद्ध अर्जेन्टिना विश्वकप फुटबलको क्वार्टरफाइनल खेलिरहेथ्यो । दर्शकले खचाखच भरिएको रङ्गशालामा दुवै देशका समर्थकहरुको एकोहोरो हुटिङ्गले वातावरणलाई तरङ्गित पारिरहेथ्यो । पहिलो हाफ गोलरहित बराबरी रह्यो । खेलको ५१ औं मिनेट अर्थात् दोस्रो हाफको छैठौं मिनेटमा ५ फुट ५ इन्छ उचाईका म्याराडोना उफ्रिएर हेड हान्न बढे । ६ फिट एक इन्च अग्ला गोलकिपर पिटर सिल्टन हेड हान्नु अगावै बललाई रोक्न दौडिए । आठ इन्च अग्ला सिल्टनलाई माथ खुवाउँदै म्याराडोनाले गोललाई पोष्टको दिशा दिए । रेफ्रीले गोलको संकेत गर्दै सिठी बजाउनु अघि नै म्याराडोना गोलको खुशियाली मनाउँदै दौडिए । लगत्तै रेफ्री अलि बेन नासिरले गोलको संकेत गरे । इंग्ल्याण्डका गोलकिपर पिटर सिल्टनले विरोध जनाए तर रेफ्रीको निर्णय उल्टिएन ।

गोल म्याराडोनाको हेडबाट नभई हातबाट भएको थियो । सायद लाइनस्म्यान र रेफ्रीले समेत देखेनन् । पहिलो गोलको ४ मिनेट नबित्दै म्याराडोनाले इंग्ल्याण्डका पाँच खेलाडीलाई छलाउँदै एकल प्रयासबाट गोल गरे । म्याराडोनाको दुवै गोलको मद्दतले अर्जेन्टिनाले इंग्ल्याण्डमाथि २–१ को जीत हासिल ग¥यो । विश्व फुटबल जगत्मा भएका सबै गोललाई ओझेलमा पार्नेगरी भएको हाते गोलले म्याराडोनालाई चर्चाको चुलीमा पुर्यायो । हातबाट भएको गोलबारे सोधिएको प्रश्नमा उनले भने– अलिअलि टाउकोले र अलिअलि इश्वरको हातले । खेलपछि अर्जेन्टिनाका कप्तान म्याराडोनाले इंग्ल्याण्डविरुद्धको जीतलाई फकल्याण्ड टापुको युद्धसँग जोडेर विवादास्पद अभिव्यक्ति दिए । अर्जेन्टिनेलीले इंग्ल्याण्डविरुद्ध युद्धमा पराजित हुनुपरेपनि खेलमा प्राप्त जीतले विजयको स्वाद लिए । फुटबलबाट राष्ट्रियताको भावना जगाउने देखि अति राष्ट्रियताको विवादास्पद प्रतिक्रिया देखाउनेमा अर्जेन्टिनेलीहरूले परिचय बनाए ।

सन् १९८६ को विश्वकपको महत्व म्याराडोनाको भनाईमा ‘‘इश्वरको हात’’ अर्थात् ‘‘ह्याण्ड अफ गड’’ बाट भएको गोलका कारण स्मरणीय रह्यो । म्याराडोनाको विश्वकप जस्तै बन्नपुग्यो । उनको जादूमयी फुटबल र एकल प्रयासहरुबाट भएका गोलबाट अर्जेन्टिनाले विश्वकप जित्यो । होचो कदका खेलाडीले विशिष्ट उचाई बनाए । फुटबल जगत्का सर्वोच्च खेलाडीको परिचय बनाएका पेलेलाई म्याराडोनाले चुनौती दिए । पेले महान् कि म्याराडोना ? बहस शुरू भयो ।

डियगो अर्मान्डो म्याराडोना साामान्य परिवारमा जन्मिएका थिए । बाल्यकालमा गरिबीले पिरोल्यो । ३० अक्टोबर सन् १९६० मा अर्जेन्टिनाको राजधानी ब्युनोस आइर्सस्थित भिल्ला फिओरिटोमा जन्मदा डियगो परिवार अभावसँग संघर्षरत थियो । बाबु डियगो म्याराडोना सिनियर र आमा डाल्मा साल्भाडोरा फ्रान्कोलाई आठजना छोराछोरीलाई हुर्काउन चुनौती झेल्नुपर्यो । पाचौं सन्तान म्याराडोनाले राजधानीको जटिल जीवनशैलीमा अभाव झेले । ३ वर्षको उमेरमा फुटबल हात पारेपछि उनमा त्यसप्रति मोह बढ्यो । गल्ली र चौरमा फुटबल खेल्दै हुर्किए । फुटबलप्रेमी अर्जेन्टिनेली र ब्युनोस आयर्सको फुटबलमयी वातावरणले म्याराडोनामा राम्रो खेलाडी बन्ने इच्छाशक्ति विकास भयो । १० वर्षको उमेरमा अर्जेन्टिनाको लोस सिबोलिटास क्लबको जुनियर टोलीमा स्थान बनाए । उत्कृष्ट प्रदर्शनीका साथ क्लबलाई १३६ प्रतिष्पर्धासम्म पराजित हुन नदिएर रेकर्ड बनाए । १६ वर्ष पुगेपछि सिनियर टोलीमा स्थान बनाए । अर्जेन्टिनाको चर्चित क्लब अर्जेन्टिनोस जुनियर्समा ट्रायलका लागि पुग्दा प्रशिक्षक फ्रान्सिस्को कोर्नेजो आश्चर्यमा परे । म्याराडोनाको खेल शैली पाको र परिपक्व खेलाडीको जस्तो थियो । अपत्यारिलो खेल देखेर उमेर पुनःजाँच गरे । किशोरावस्थाका म्याराडोनाले उमेर ढाँटेका रहेनछन् । सानदार खेलकौशल देखेर क्लबमै अनुबन्ध गरे ।

म्याराडोनाले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट ९१ प्रतिष्पर्धा खेलेर ३४ गोल गरे । बार्सिलोना र नेपोली जस्ता यूरोपका चर्चित क्लबहरूबाट फुटबल खेले । फुटबलको इतिहासमा म्याराडोनाका लागि दुईपटक क्लब परिवर्तनका दौरान किर्तिमानसहितको रकम तिरिएको थियो । जसमध्ये सन् १९८२ को विश्वकपपछि बार्सिलोनामा जाने बेलाको रकम समेत हो । सन् १९८२, १९८६, १९९० र १९९४ गरी चारवटा फिफा विश्वकप खेले । उनले खेलेको पहिलो विश्वकपमा अपेक्षाकृत प्रदर्शन गर्न सकेनन् । अर्जेन्टिना नकआउट चरणबाट बाहिरियो । सन् १९८६ मा अर्जेन्टिनाको कप्तानी सम्हाल्दै विश्वकप उचाले । सोही वर्ष उत्कृष्ट खेलाडीको उपाधि जिते ।

खेलकौशलका कारण मान, शान र धन कमाउन सफल खेलाडी सधै विवादमा मुछिए । कहिले विवादास्पद अभिव्यक्ति दिने त कहिले अवैध लागूऔषध कोकिनको सेवन गर्ने । प्रतिबन्धित औषधी सेवनकै कारण सन् १९९४ मा अमेरिकामा आयोजित विश्वकपको समूह चरणको खेल नसकिदै म्याराडोनालाई प्रतिबन्ध लाग्यो । तीन वर्षसम्म खेल्न नपाउनेसम्मको प्रतिबन्धले उनको खेलजीवन संकटमा प¥यो । २० वर्षको उमेरबाट कोकिनको लतमा परेका उनी करिअरको अन्ततिर आएर कारबाहमिा परे । म्याराडोनाको प्रेरणाले विश्वकप जित्ने लक्ष्यका साथ अमेरिका पुगेको टोलीले समूह चरण नसक्दै म्याराडोनारहित टोली उतारेर खेल्नुप¥यो । विश्वकपभन्दा म्याराडोनाको विवादास्पद कार्यले विश्वको ध्यान बटुल्यो ।

विवाद नै विवादको भूमरीमा परेका म्याराडोनाले सन् १९९७ मा खेलजीवनबाट सन्यासको घोषणा गरे । जतिसुकै विवादमा मुछिएपनि उनको चर्चा र मान घटेन । फुटबलका महानतम् खेलाडीका लागि भएको विश्वव्यापी सर्वेक्षणहरुमा म्याराडोनाले पेलेलाई समेत उछिने । फुटबलको सर्वोच्च संस्था फिफाले शताब्दीको महान फुटबल खेलाडीका लागि गरेको सर्वेक्षणमा पेलेभन्दा बढी प्रतिशत मत पाए । यद्यपि दुवैलाई संयुक्त रुपमा २० औं शताब्दीको उत्कृष्ट खेलाडीको उपाधि दिने घोषणा ग¥यो । म्याराडोनाले उपाधि अस्वीकार गरे । उनले आफू एक्लैले पाउनुपर्ने दाबी प्रकट गरेपछि विवाद देखियो । त्यसपछि दुवै खेलाडीबीच सम्बन्ध सामान्य भएन । म्याराडोनाले फिफाले आफूमाथि न्याय गर्न नसकेको महशुश गरे । अर्जेन्टिनाले म्याराडोनाको सम्मानमा १० नम्बर जर्सी फुटबल खेलाडीले आइन्दा नलाउने प्रस्ताव फिफामा राख्यो । तर त्यसलाई फिफाले अनुमोदन गरेन । फुटबलको सर्वोच्च संस्थाले जे जस्तो निर्णय गरेपनि सर्वसाधारणमाझ गरिएको सर्वेक्षणमा म्याराडोना अग्रपंक्तिमा रहे । उनले इंग्ल्याण्डमाथि गरेको सन् १९८६ को विश्वकपमा हातबाट गरेको गोल २० औं शताब्दीको उत्कृष्ट गोलमा छानियो ।

म्याराडोना खेलाडीमा मात्र सिमित भएनन् । विश्वकै चर्चितमध्येका सेलिबे्रटी समेत भए । सेलिब्रिटी चरित्रमा अझै कमी आएको छैन । अर्जेन्टिनेली टेलिभिजनमा शो चलाए । पेलेलाई पहिलो कार्यक्रममा अतिथि बनाएर रमाइला कुराकानी गरे । विगतका तिक्तता भुलाउने प्रकारको कुराकानीमा विश्वको ध्यान गयो । विवादास्पद कार्यहरु गरिरहने भएकाले उनले असामान्य चरित्रको खेलाडीको परिचय बनाएका छन् । सन् २००८ मा अर्जेन्टिनेली राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारी सम्हालेपछि फुटबल पुनः एकपटक म्याराडोनामय बन्यो । सन् २०१० मा जर्मनीमा भएको विश्वकपमा म्याराडोनाको जादूको आशा गरियो । खेलाडी बनेर देखाएको जादू प्रशिक्षक बन्दा देखाउन सकेनन् । अर्जेन्टिना जर्मनीसँग ४–० ले पराजित भयो । प्रशिक्षक हुँदाको दौरान उनका गतिविधि र हाउभाउले स्मरणलायक बन्यो । खेल हार्दा म्याराडोना मायालाग्दो गरी रोए । सन् १९९० को विश्वकपमा जर्मनीसँग फाइनल प्रतिष्पर्धामा अर्जेन्टिना हार्दा कप्तानी सम्हालेका म्याराडोनाले अश्रुधारा बगाएको दृश्य सम्झनलायक थियो । खेल सकिएको सिठी बजेपछि जर्मनी जितेको खुशियाली मनाएको भन्दा म्याराडोना रोएको दृश्यले ध्यान खिच्यो । दोस्रो स्थानको पदक थाप्दा समेत रोए । उनको भावुक स्वभावका कारण पनि खेलप्रमीहरु आकर्षित हुन्थे ।

म्याराडोनाको धेरै युवतीसँग नाम जोडियो । वैवाहिक सम्बन्ध पनि टिकेन । लामो समयसम्म प्रेमसम्बन्ध पछि ७ नोभेम्बर सन् १९८४ मा क्लाउडिया भिल्लाफेनीसँग विवाह गरेका थिए । छोरीहरु डाल्मा निरिया र गियानिना डिनोरा जन्मिए । म्याराडोनाको वैवाहिक जीवन सफल भएन । दुवैबीच सन् २००४ मा पारपाचुके भयो । म्याराडोना स्वयंले श्रीमतीप्रति इमान्दार नभएको स्वीकारेका छन् । दुई छोरीहरू जन्म अघि नै उनीबाट डियगो सिनाग्राको जन्म भइसकेको थियो । सिनाग्रा आफ्नो छोरा नभएको दाबी गरेपनि पछि स्वीकार गरे । भेरोनिका ओजेडासँग प्रेम सम्बन्ध रह्यो । ओजेडाले म्याराडोनाको पाचौं सन्तानलाई जन्म दिइन् । ५३ वर्ष पुग्दा पूर्व फुटबल खेलाडी २३ वर्षीया रोसिया ओलिभासँग प्रेममा परे । रोसिया म्याराडोनाकी दुई छोरीभन्दा कान्छी हुन् । विवादास्पद छविकी रोसियामाथि पैसाका लागि म्याराडोनाको पछि लागेको आरोप लाग्यो । केहीले उनलाई पैसाका लागि जे पनि गर्ने र उच्च तहकी वेश्या भनी गम्भीर आरोप लगाए । म्याराडोनाचाहिं रोसियासँग रमाए ।

म्याराडोना विद्रोही स्वभावका थिए। वामपन्थी झुकाव राख्थे। तल्लो वर्गबाट उठेकाले उनमा त्यसको असर परेको हो । कुनैबेला नवउदारवादीको पक्षमा पनि लागे । पछि पूर्ण क्रान्तिकारी स्वभाव देखाए । फुटबल खेलाडी नभइदिएको भए क्रान्तिकारी हुन्थे होलान् । दायाँ पाखुरामा चे ग्वेभाराको टाटु बनाएका थिए । अर्जेन्टिनेली नागरिक ग्वेभाराले क्युबाले क्युबाको सशस्त्र क्रान्तिमा भूमिका खेलेका थिए । क्युवाका नेता फिडेल क्यास्ट्रोसँग गहिरो मित्रता थियो । लागूऔषधको सेवनका कारण बिग्रिएको स्वास्थ्योपचारका क्रममा क्युवा बसे । भेनेजुयलाका दिवंगत राष्ट्रपति हुगो चाभेज म्याराडोनका मित्र थिए । पश्चिमा विश्वलाई चुनौती दिएका चाभेजको कदम र व्यक्तित्वको प्रशंशक थिए । सन् २००३ मा लिबियाका पूर्व शासक मुअम्मर गद्दाफीका छोरा अल सादी गद्दाफीका फुटबल खेलाडी छोरा अल सादी गद्दाफीका प्राविधिक सल्लाहकारको भूमिका समेत निभाए । उतिबेला अल सादी इटालीको ए डिभिजन क्लब पेरुगिया काल्सियोबाट खेल्थे । राजनीतिमा प्रत्यक्ष संलग्न नभएपनि म्याराडोना राजनीतिक घटनाक्रमसँग जोडिइरहे । कहिले फिडेल क्यास्ट्रोसँग त कहिले हुगो चाभेजसँग देखिए ।

म्याराडोनामाथि फुटबल मैदानमा विपक्षीले अत्याधिक अवरोध उत्पन्न गर्थे । अति फाउल गर्थे । सन् १९८२ को विश्वकपमा इटालीविरुद्धको खेलमा उनीमाथि २३ पटक फाउल गरियो जुन विश्वकपको कुनै खेलमा एक खेलाडीमाथि गरिएको सबैभन्दा बढी फाउलको किर्तिमान हो । सन् १९९० को विश्वकपमा म्याराडोनामाथि ५० पटक फाउल गरियो । जुन कुनै विश्वकपमा एकै खेलाडीमाथि यति धेरैपटक फाउल गरिएको किर्तिमान हो । जो क्षमतावान् छ उसैमाथि बढी चुनौती तेर्सिन्छ । वास्तविक जीवनमा पनि म्याराडोनामाथि अवरोध तेर्साइयो । त्यसैले होला उनी विद्रोही बने । समाजवादी विचारधाराका समर्थक बने । अर्जेन्टिनाले आफ्नो दाबी गरिरहेको फकल्याण्ड टापुमाथि बेलायतले जमाएको आधिपत्य र प्रभावप्रति उनको गम्भीर असन्तुष्टि छ । त्यसैले होला उनले बेलायतमा क्लब फुटबल खेल्ने चाहना राखेनन् ।

‘साम्राज्यवाद’ को चर्को आलोचना गरे । कहिले फिडेल क्यास्ट्रोसँग नजिकिएर त कहिले हुगो चाभेजको समर्थन गर्दै शक्तिराष्ट्रको व्यवहारको विरोध गरे । कहिले चाभेजको शव गाडिएको स्थानमा पुगी रातो पहिरनमा १० नम्बरको जर्सी लगाउँदै भेजेजुयलाको चुनावमा समाजवादीलाई जिताउन आव्हान गरे । सँसारमा कुनैपनि व्यक्ति पूर्णत स्वतन्त्र विचारको हुनसक्दैन । यो या त्यो तप्कामा रहेकै हुन्छ । देखाउने या नदेखाउने फरक विषय हो । म्याराडोनाले आफ्नो कित्ता प्रष्ट गरे । फुटबलको मैदानमा रहँदा जति विवाद र आकर्षणको केन्द्र बने बाहिर रहँदा उत्तिकै विवाद र आकर्षणको केन्द्र बनेका छन् । फुटबलका महान् हस्तीसँग किर्तिमानको ठेली छ ।

फुटबल राजनीतिबाट मुक्त छैन । म्याराडोनाले फुटबलको लेफ्ट धारलाई बलियो बनाउन भूमिका खेले । तर जुनसुकै विचारका भएपनि म्याराडोनालाई खेलाडीका रूपमा सबै पक्षले उत्तिकै मनपराउँछन् । राजनीतिक आस्था राख्नेका लागि उनी एउटा पक्षका हुन् तर खेलाडीका रूपमा सबैका प्रीय । खेल कौशलबाट सबैलाई आफ्नो बनाए ।



प्रतिक्रिया दिनुहोस्