Logo

हिमालप्रेमी श्रृंगला नेपाल आइरहन्थे



काठमाडौं, ११ मंसिर । भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगलाले आफू विगतमा पनि काठमाडौं आएको खुलाएका छन् । हुनपनि उनी बेला बेलामा नेपाल आइरहन्थे । हिमाल प्रेमी श्रृंगला सगरमाथाको आधार शिविर पनि पुगेका छन् । उनी विभिन्न हिमालको आधार शिविरमा पुगेका छन् ।

श्रृंगलाको परिवार दार्जिलिङका बासिन्दा हुन् । उनको नेपालमा व्यक्तिगत नातासम्बन्ध छ । श्रृंगला नेपाली भाषा स्पष्ट बोल्छन् । आज त्रिभुवन विमानस्थलमा उत्रिएपछि उनले नेपालीमा बोलेर आफ्नो भ्रमणबारे संक्षित प्रतिक्रिया दिएका थिए ।

श्रृंगला बहुभाषा बोल्छन् । भारतमा बोलिने धेरै भाषा बोल्न सक्ने उनी अंग्रेजी, फ्रेन्च, भियतनामी भाषा पनि बोल्छन् । हर्षवद्र्धनकी आमा हरिदेवी बस्नेत नेपाली मूलकी भारतीय हुन् । उनका बाबु छिरिङ तेन्दुफुला हुन् । दुवै दार्जिलिङका हुन् ।

हरिदेवीको माइती ललितपुरमा हो । यसकारण हर्षवद्र्धनको मामाघर नेपाल हो । उनीहरुको परिवारको दार्जिलिङको मालरोडमा आइभनहो हाउस होटल छ । बाबु छिरिङ भारतको वैदेशिक व्यापार विभागका सहायक प्रमुख नियन्त्रक सम्म भएका थिए । उनी जागिरको सिलसिलामा विभिन्न राज्यहरुमा खटिन्थे । जागिरको सिलसिलामा दक्षिण भारतमा खटिंदा हर्षवद्र्धन श्रृंगलाको जन्म भएको थियो ।

हर्षवद्र्धन भारतको पहिलो महिला विदेशसचिव चोकिला ऐयरका नाताका हुन् । नाताले चोकिलाको हर्षवद्र्धन भतिजा हुन् ।

 



प्रतिक्रिया दिनुहोस्