Logo

वार्ता सकारात्मक मोडमाः शृंगला



काठमाडौं, मंसिर १२ । नेपाल भारत परराष्ट्र सचिवस्तरीय वार्ता सकारात्मक दिशामा अघि बढेको छ । बिहीबार बिहान नेपाल आइपुग्नुभएका भारतीय विदेश सचिव हर्षवद्र्धन शृंगला र नेपालका परराष्ट्र सचिव भरतराज पौडेलसहितको टोलीबीच भएको वार्ताले सकारात्मक रुप लिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

लामो समयदेखि संवादहीन अवस्थामा रहेका दुई मुलुकका परराष्ट्र सचिवबीचको वार्ताले सकारात्मक मोड लिएको भारतीय विदेश सचिव शृंगलाले सञ्चारकर्मीलाई जानकारी दिए ।

वार्तापछि छोटो प्रतिक्रिया दिँदै भारतीय विदेश सचिवले भने– ‘दुई देशबीच सबै विषयमा खुलेर कुरा भएको र वार्ता सकारात्मक बन्दै गएको छ ।’ औपचारिक वार्ता हुनुअघि दुई सचिवबीच गोप्य भेटवार्ता भएको थियो । उनीहरुबीच भएको वार्ताका बारेमा केही बताइएको छैन ।

बैठकमा सहभागी परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार भारतले सबै विषयमा कुरा गर्न चाहेको बताएपछि लामो समयदेखिको संवादहीन अवस्था र नेपाल भारतबीचको सम्बन्ध, भारतले गर्ने भनेको सहयोग र अन्य विषयमा समेत छलफल भएको थियो ।

बैठकमा दुई देशबीच समस्याका रुपमा देखिएका सबै विषयमा छलफल भएको र त्यसले सकारात्मक रुप लिएको पनि बैठकमा सहभागी ती अधिकारीले जानकारी दिए । वार्ताका एजेन्डाहरु धेरै भएकाले सबै विषयमा छलफल भएको र उक्त छलफल सकारात्मक रहेको पनि परराष्ट्र मन्त्रालयले गरेको ट्विटमा उल्लेख गरिएको छ ।

विश्वभर संकटको रुपमा देखिएको कोरोना भाइरस संक्रमणका विरुद्ध बनेको खोप उपलब्ध गराउन भारत सकारात्मक रहेको पनि भारतीय विदेश सचिव शृंगलाले बताएका थिए। उनले नेपालले उठान गरेको उक्त विषयमा नेपाललाई सहयोग गर्न भारत तयार रहेको जानकारी गराएका थिए ।

परराष्ट्र सचिवस्तरीय बैठकपछि शृंगलाले नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग भेट गरेका छन् । उनले नेपाल भारतबीचको सदियौं पुरानो सम्बन्धमा कहिल्यै पनि चिसोपन आउन नसक्ने बताउँदै समयअनुकूल सम्बन्ध परिमार्जन गर्दै लैजाने बताएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्