Logo

नेपाल-भारतबीच सीमा समस्या समाधान होला ?



समाचा विश्लेषण । कालापानीलगायत भूभागको विवादले नेपाल र भारतबीच चिसिएको सम्बन्धमा फेरि सुधार हुनथालेको छ । भारतले लिम्पियाधुरा हुँदै चीनसँग जोडिने सडक उद्घाटन गरेपछि नेपालले विरोध मात्र गरेन ती भूभाग समेटेर नयाँ नक्शा जारी गर्यो । त्यसपछि भारतले संवादलाई पूरै बेवास्ता गर्यो ।

नेपालले वार्ताको आग्रह गरेपनि भारतले आलटाल गरेको सरकारका तर्फबाट समेत जानकारी गराइयो । तर, भारतभित्र संवाद बन्द गर्दा अन्य शक्तिले ठाउँ बनाउँदै गएको विषय उठ्यो । त्यसपछि संवादमा भारतले नै जोड दियो । एक महिनाभित्र भारतको गुप्तचर प्रमुख सामन्त गोयल, सेना प्रमुख जनरल मनोज मुकुन्द नरवणे र विदेशसचिव हर्षवद्र्धन श्रृंगला नेपाल भ्रमणमा आए । यसबाट भारतले संवादलाई निकै महत्व दिएको देखियो ।

नेपालको दुई दिने भ्रमणमा आएका विदेश सचिव श्रृंगलाले सीमा समस्या समाधानका बारेमा समेत कुराकानी गरेको भारतीय राजदूतावासले जनाएको छ । भारतीय राजदूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा सीमा सम्बन्धी विषयमा छलफल भएको उल्लेख गरेको छ । बाँकी खण्डमा सीमा सम्बन्धी कार्यहरु सम्पन्न गर्नेबारे विचार साटासाट गरेको जनाइएको छ ।

नेपालले पनि सीमा समस्या समाधान गर्न प्रस्ताव प्रस्तुत गरेको जनाएको छ । नेपालले बाँकी रहेका सीमा समस्या समाधानका विषयमा भारतसँग औपचारिक प्रस्ताव राखेको हो । नेपाल र भारतबीच ९८ प्रतिशत सीमा समस्या समाधान भइसकेको छ । बाँकी विवादित विषयमा संवाद हुन नसकेको लामो समय भइसकेको छ । श्रृंगलाको भ्रमणका समयमा यो विषयमा छलफल भएबाट केही आशा गर्न सकिन्छ ।

भारतसँग कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र, सुस्ता क्षेत्रलगायत ठाउँमा सीमा समस्या छ । ती क्षेत्रमा नेपाल र भारतको आ आफ्नै दाबी छ । समस्या समाधान गर्न नसकिने विषय भने होइन । यसका लागि कुटनीतिक र राजनीतिक दुवै तहमा वार्ताको जरुरी पर्छ । यसपटक श्रृंगला नेपाल आउँदा यस विषयमा छलफल भएको छ । यसले सकारात्मक सन्देश पनि दिएको छ ।

सीमा जस्तो संवेदनशील विषयमा हल्ला र विरोध गरेर मात्र समस्या हल हुँदैन । यसका लागि कुटनीतिक पहल अनिवार्य छ । नेपाल र भारत दुवै देशले यो विषयमा गम्भीर छलफल गरी समाधान गर्न सक्ने अवसर बनेको छ । यति समस्या समाधान भएमा दुई देशबीचको सम्बन्ध अझ सुमधुर बन्छ ।



प्रतिक्रिया दिनुहोस्