Logo

म्याराडोना अब सम्झनामा



काठमाडौं, मंसिर १३ । अन्य क्षेत्रजस्तै खेलजगत्मा पनि त्यस्ता केही महान् व्यक्तित्व हुन्छन्, जसलाई प्रशंसकहरूले भगवान्को दर्जा दिएका हुन्छन् । कतिपयले त यस्ता खेलाडीलाई आदर्श मानेर उनीहरूकै अनुशरण गर्छन् । कति त उनीहरूकै प्रभावले खेलमा होमिन्छन् ।

यस्ता खेलाडीको नाम लिँदा डिएगो म्याराडोनाको नाम धेरैको मानसपटलमा अमिट बनेर रहेको छ । फुटबलप्रेमी हुन् या फुटबलप्रति चाख नै नभएका व्यक्ति किन नहुन्, म्याराडोनालाई नचिन्ने विश्वमै विरलै होलान् ।

फुटबलका यस्ता खेलाडी म्याराडोनाको हृदयाघातले गत बुधबार निधन भयो । विश्वकै सर्वकालीन महान् खेलाडीमध्ये एक म्याराडोनाले संसार छोड्दा विश्व नै शोकाकुल बन्यो । अहिले करौडौँ फुटबलप्रेमी म्याराडोनाको जादुमय फुटबल खेलको यादमा डुबेका छन् । जुन सम्झना चाँडै मेटिने छैन ।

हुन त भगवान्को दर्जा पाएका खेलाडी म्याराडोनाको जीवनशैली पछ्याउनलायक भने थिएन । मोजमस्तीले कैयौँपटक मृत्युको नजिक पुगेर पनि बाँचेका खेलाडी हुनुहुन्छ– म्याराडोना । सन् २००० र २००४ मा अत्यधिक लागूपदार्थले उहाँ मृत्युको नजिक पुग्नुभएको थियो । गत हप्तामात्र मस्तिष्कमा जमेको रगतको एक ढिक्का हटाउने शल्यक्रिया गरिएको थियो । जुन सफल भएको पनि भनियो । तर, केही दिनपछि नै हृदयाघातबाट उहाँको मृत्यु भयो ।

म्याराडोनाको निधनपछि कोभिडको समयमा पनि अर्जेन्टिनीहरू विलाप गर्दै, विरह गीत गाउँदै सडकमा उत्रिए । अर्जेन्टिनाको सरकारले तीन दिन शोक मनाउने घोषणा ग¥यो । म्याराडोनाको निधनको शोकमा फुटबल क्षेत्रमात्र डुबेन, महान् बास्केटबल खेलाडी म्याजिक जोन्सन, महान् बक्सर माइक टाइसन, लाइबेरियाका राष्ट्रपति जर्ज वेजस्ता व्यक्तित्व पनि शोकमा डुब्नुभयो । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्