Logo

छात्रालाई साइकल



चितवन, १३ मङ्सिर: भरतपुर महानगरपालिका–९ मा बसोवास गर्ने विपन्न र घरबाट स्कूल जान भौगोलिक दूरी टाढा भएका २७ छात्रालाई साइकल वितरण गरिएको छ । भरतपुर महानगरपालिकाले जोखिममा परेका महिलासँग मेयर कार्यक्रमअन्तर्गत साइकल वितरण गरेको हो ।

विद्यालय शिक्षामा छात्राको शैक्षिक निरन्तरताका लागि लक्षित वर्गका किशोरीलाई साइकल हस्तान्तरण गर्ने महानगरको अघिल्लो आर्थिक वर्षको योजनाअन्तर्गत साइकल वितरण गरिएको हो । साइकल वितरण गर्दै महानगर प्रमुख रेनु दाहालले अघिल्लो वर्षको योजना भए पनि कोभिड–१९ का कारण यस वर्ष १२ वटा वडाका ३३० छात्रालाई साइकल वितरण गरिने बताए । उनका अनुसार महानगरले विभिन्न वडामा पुगेर छात्रालाई साइकल वितरण गरिरहेको छ । यसअघि महानगरका २४, २५, २६, १३, १४, २२, २३ लगायतका वडाका छात्रालाई साइकल वितरण भएको थियो ।

महानगरले अनलाइन र पावरप्वाइन्टमार्फत पढाउनुपर्ने अवधारणा अगाडि सारेको छ । महानगरले आफ्नो आन्तरिक स्रोतबाट रु नौ करोडभन्दा बढी रकम शैक्षिक विकासमा विनियोजन गरेको छ । महागरले सबै स्कूलमा इन्टरनेट जडानको कामलाई तीव्रता दिएको छ भने प्रत्येक स्कूललाई एउटा ल्यापटप उपलब्ध गराएको प्रमुख दाहालले जानकारी दिए ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्