Logo

दैनिक ५० लाख थान स्टीकर छपाइ



, मंसिर १४ । मदिरा तथा चुरोटमा प्रयोग हुने अन्तः शुल्क स्टीकर अहिले दैनिक ५० लाखका दरले छपाइ भइरहेको छ ।चालू वर्षभित्र ७० करोड थान स्टीकर छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले सो परिमाणमा स्टीकर छापिरहेको छ ।

केन्द्रका अधिकारीहरूले आन्तरिक राजस्व विभागको मागअनुसार छपाइलाई तीव्र पारिएको बताएका छन् । ‘तिहार लगत्तैबाट छपाइ थालिएको हो, सबै प्रबन्ध मिलाएर काम अघि बढिसकेको छ,’ जनक शिक्षाका महानिर्देशक महेशप्रसाद तिमिल्सिनाले बताए ।

चालू वर्षमा अन्तःशुल्क स्टीकरको अभाव हटाउन केही महीनाअघि तत्कालका लागि छपाइको जिम्मा जनक शिक्षालाई दिने निर्णय अर्थ मन्त्रालयले गरेको थियो ।ग्लोबल टेन्डर आह्वान गर्दा मौज्दात सकिसक्ने र स्टीकरको चरम अभाव हुने अवस्था आउन सक्ने भएकाले स्वदेशमै छाप्नुपर्ने दबाबमा आन्तरिक राजस्व विभाग थियो ।

यसैबीच, थप ९ अर्ब थान स्टीकर विदेशी कम्पनीबाट छपाइ गर्ने गरी विभागले टेन्डर आह्वान गरी प्रक्रिया अघि बढाएको छ ।गतवर्ष अन्तरराष्ट्रिय प्रतिस्पर्धाबाट स्टीकर खरीदको प्रक्रिया अघि बढाइएपछि स्वदेशी कम्पनीलाई प्रतिस्पर्धाको अवसरबाट वञ्चित गराइएको भन्दै मिराज प्रिन्टिङ सोलुसन्सका तर्पmबाट मनोहरराज घिमिरेले सर्वोच्च अदालतमा रीट दायर गरेका थिए ।

यो रीटको अन्तिम सुनुवाइ गर्दै सर्वोच्चले अब ठेक्का लगाउँदा स्वदेशी कम्पनीको क्षमता हेरी प्रतिस्पर्धाको अवसरबाट वञ्चित नगराउन आदेश दिएको थियो । तर, विभागले नयाँ टेन्डर आह्वान गर्दा स्वदेशी कम्पनी समावेश हुने आधार देखिँदैन । नेपाली छपाइ उद्यमीहरूले यसको विरोध गर्दै नेपाली कम्पनीहरूलाई पनि प्रतिस्पर्धामा सामेल गराउन माग गरिरहेका छन् ।

विभागका महानिर्देशक विनोदबहादुर कुँवरले मापदण्ड पूरा गर्न सक्ने स्वदेशी कम्पनीहरूले पनि टेन्डरमा भाग नै लिन पाउने बताए ।‘टेन्डरमा जुनसुकै कम्पनी पनि सहभागी हुन पाउँछन् तर सुरक्षणसम्बन्धी मापदण्ड हिजो पनि वैज्ञानिक थियो, आज पनि त्यही छ, त्यसअनुसार काम गर्न सुनिश्चित गर्न सक्नेले टेन्डरमा सहभागी हुन पाउनेछन्,’ उनले भने ।

अन्तःशुल्क छपाइको स्तर, छपाइको सुरक्षा आदि कारणले पनि स्वदेशी कम्पनीहरूलाई छपाइको जिम्मा ग्यारेन्टी गर्न विभागले नसकेको उनको भनाइ रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्