Logo

आरोप पुष्टि गर्न दाहाललाई ओलीको चुनौती



काठमाडौं, मंसिर १४ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रथम अध्यक्ष केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई पार्टी विभाजनको आधार खडा गरेको आक्षेप लगाउँदै आफूमाथि लगाएका आरोपको पुष्टि गर्न र पुष्टि गर्न नसके परिणामप्रति जवाफदेही हुन चुनौती दिएका छन्।

पार्टी सचिवालयको शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा ओलीले कार्यकारी अध्यक्ष दाहालले कात्तिक २८ मा पेस गरेको प्रतिवेदनको खण्डन गर्दै यस्तो चुनौती दिएका हुन्।

‘मेरो तपाईं (दाहाल) लाई चुनौती छ, ममाथि लगाएका आरोपहरू पुष्टि गर्नुस्, होइन भने परिणामप्रति जवाफदेही हुन तयार रहनुस्’, ओलीले आफ्नो प्रतिवेदनमा लेखका छन्। बैठकको सुरुमै ओलीले लामो स्पष्टीकरण दिएर आफूलाई लगाइएका सबै आरोप पुष्टि गर्न दाहाललाई चुनौती दिएका थिए। बैठकमा उनले आफ्नो प्रतिवेदन खाममा राखेर सचिवालयका सबै सदस्यलाई पढ्न दिएका थिए।

दुवै अध्यक्षको प्रस्ताव अध्ययन गरी १६ गते केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने सचिवालयको अर्को बैठकमा छलफल गरिने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। उनले ओलीले पेस गरेको प्रस्ताव सबै सचिवालय सदस्यलाई खामबन्दी गरी अध्ययनका लागि वितरण गरिएको बताए। ‘अब दुवै अध्यक्षको प्रस्तावमाथि सचिवालय बैठकमा छलफल हुन्छ, पार्टी एकताको विषयमा दुवै अध्यक्ष गम्भीर रहेको पाइयो,’ श्रेष्ठले शनिबारको बैठकपछि सञ्चारकर्मीसँग भने। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्