Logo

कञ्चनजङ्गा पदमार्गका होटल सुनसान



ताप्लेजुङ, १४ मङ्सिर: विगतका वर्षमा स्वदेशी तथा विदेशी पर्यटकको सेवामा भ्याइनभ्याइ हुने घुन्साका होटल व्यवसायी पासाङ छाम्जोक शेर्पा गएको चैतदेखि नै फुर्सदमा छन् । गत चैतमा नै पर्यटकका लागि आवश्यक खाद्यान्नलगायतका सामग्री जोहो गरेर पर्यटकको पर्खाईमा बसेका उनी पर्यटक नै नआएपछि फुर्सदिलो बनेका हुन् ।

“यस मौसममा हाम्रो होटलमा फाट्टफुट्ट स्वदेशी र विदेशी चार जनाबाहेक पर्यटक आएका छैनन, चैतमा नै होटलमा चाहिने सामान जोहो गरेर बसियो, पर्यटक नआएपछि फुर्सदमै दिन बित्यो”, उनले भने । कञ्चनजङ्गाको प्रवेशद्वार मानिने घुन्सामा सात वटा होटल छन् । सबै होटलले चैतमा नै आवश्यक सामान जोहो गरे र पर्यटकको सेवाका लागि तयार भए । तर यो वर्ष कोरोना सङ्क्रमणका कारण पर्यटकको आगमन नहुँदा ती होटल सुनसान देखिन्छन् ।

सधैँका वर्षमा पर्यटकले खचाखच हुने होटल चैतमा नै ल्याइएका खाद्यान्नलगायतका सामानले भरिएका देखिन्छन् । घुन्साका मात्रै नभई तीभन्दा तलका बस्ती फले, ग्याब्ला, आम्जिलेसा, सेखाथुमलगायतका होटलसमेत सुनसान देखिन्छन् । यस मौसममा ज १२ जना विदेशी पर्यटक आएको घुन्साका टाँसी तेञ्जिङले जानकारी दिए । “सधैँका वर्षमा पाँच-छ सय विदेशी पर्यटक आउँथे, दुवै मौसममा त्यहाँका होटल भरिभराउ हुन्थे, राम्रै आमदानी हुन्थ्यो तर यो मौसममा १२ जना विदेशी पर्यटक र फाट्टफुट्ट स्वदेशी पर्यटक मात्र आए”, उनले भने ।

कञ्चनजङ्गा पदमार्गमा पर्ने विभिन्न बस्तीमा ठूलो लगानीका साथ होटल खोलिएका छन् । पछिल्लो समयमा वन्यजन्तुको आक्रमण, खर्क अभावलगायतले पशुपालन र उत्पादन न्यून हुँदै गएपछि आलुखेतीबाट दिक्क भएका स्थानीय होटल तथा पसल सञ्चालनमा केन्द्रित छन् । तर यो वर्ष सङ्क्रमणकै कारण पर्यटक नआउँदा भने आयस्रोतको बाटो नै बन्द भएको स्थानीय बताउँछन् । “पर्यटक नआउँदा होटल व्यवसायी मात्रै नभई समग्र त्यहाँका बासिन्दाको आम्दानी घटेको छ, त्यसमाथि यो वर्ष आलु उत्पादनसमेत राम्रो भएन, यसले आर्थिक मन्दी आउने भयो”, तेञ्जिङ शेर्पाले भने ।

व्यसाय ठप्प हुँदा साहुबाट लिएको सामानको ऋण बुझाउनसमेत समस्या भएको स्थानीयवासीले बताए । मौसम शुरु हुनुअघि सदरमुकामलगायतका ठाउँबाट आवश्यक सामान लैजाने र मौसमको अन्तिममा साहु तिर्ने गरिए पनि यस वर्ष गत चैतमै जम्मा भएको खाद्यान्नलगायतका सामान अहिलेसम्म जस्ताकोतस्तै रहँदा समस्या भएको होटल व्यवसायीले बताएका हुन् । कोरोना सङ्क्रमणका कारण चैतदेखि नै लकडाउन शुरु भएको थियो । चैतदेखि जेठसम्म पर्यटक आउने मौसम भएकाले कतिपयले चैतअघि नै सामानको जोहो गरेका थिए । कञ्चनजङ्गा पदमार्गमा पर्ने सेखाथुमदेखि घुन्सासम्ममा एक दर्जन बढी होटल रहेका छन् । उता पदमार्गमा नै पर्ने खम्बाचेन, लोनाकलगायतका होटलसमेत यो वर्ष सुनसान छन् ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्