Logo

विशाल योगफलका सामु भारत निरिह, सिरिज अष्ट्रेलियाको पोल्टामा



मंसिर १४, एजेन्सी । भारतविरुद्धको तीन खेलको एकदिवसीय क्रिकेट सिरिज घरेलु टिम अष्ट्रेलियाले जितेको छ । सिड्नीमा आइतबार भएको दोस्रो खेलमा भारतलाई ५१ रनले पराजित गर्दै अष्ट्रेलियाले एक खेल अगाबै सिरिज आफ्नो बनाएको हो । सिड्नी क्रिकेट मैदानमा अष्ट्रेलियाले दिएको ३ सय ९० रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको भारतले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ३८ रन मात्र बनाउन सक्यो ।

भारतका लागि कप्तान विराट कोहलीले ८९ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीको हार टार्न सकेनन् । यस्तै केएल राहुलले ७६ रनको अर्धशतकीय इनिङ्स खेल्दा श्रेयस एयरले ३८ रन बनाए । शिखर धवन ३० रनमा आउट हुँदा मायांक अग्रवाल र हार्दिक पाण्डयले २८र२८ रन बनाए । रबिन्द्र जडेजाले २४ रन जोडे । अष्ट्रेलियाका लागि पाट कुमिन्सले ३ विकेट लिए । जोस हाजलउड र एडम जाम्पाले दुई दुई विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ८९ रन बनाएको थियो । सिड्नी क्रिकेट मैदानमा अष्ट्रेलियाको फराकिलो स्कोरमा स्टिभ स्मिथले शतकीय इनिङ्स खेले । लगातार दोस्रो खेलमा शतक बनाएका स्मिथले १ सय ४ रन बनाए । पहिलो खेलमा स्मिथले १ सय ५ रन बनाएका थिए । यस्तै डेभिड वार्नरले अर्धशतकीय इनिङ्स खेल्दै ८३ रन बनाए । मार्नुस लाबुसेनले ७० रनको अर्धशतकीय इनिङ्स खेल्दा कप्तान आरोन फिन्चले ६० रनको अर्धशतकीय इनिङ्स खेले । अर्धशतकीय इनिङ्स खेलेका ग्लेन म्याक्सवेल ६३ रनमा अविजित रहे । भारतका मोहमद शामी र हार्दिक पाण्डयले एकएक विकेट लिए ।

जितसँगै अष्ट्रेलियाले ३ खेलको सिरिजमा दुई शुन्यको अग्रता समेत बनाएको छ । यस अघि शुक्रबार भएको पहिलो खेलमा अष्ट्रेलियाले भारतलाई ६६ रनले पराजित गरेको थियो । दुई टिमबीचको अन्तिम तथा तेस्रो एकदिवसीय खेल बुधबार हुनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot