Logo

मेयर फोरमको निर्णयः अनुकूल समयमा खोलिने



ललितपुर, मंसिर १६ । ललितपुर महानगरपालिकाले काठमाडौँ भ्याली मेयर फोरमको निर्णयपछि अनुकूल समयमा मात्र विद्यालय खोल्ने जनाएको छ । विश्वव्यापीरूपमा फैलिरहेको कोरोना महामारीका कारण महानगरपालिकाले काठमाडौँ उपत्यकामा कोभिड सङ्क्रमणदर बढ्दै गएका कारण अन्य महानगरपालिका र नगरपालिकाका प्रमुखसँगको सल्लाह र सुझावपछि मात्र विद्यालय खोल्न उपयुक्त हुने जनाएको हो ।

जाडो समयमा कोभिड भाइरस बढी समय बाँच्छ भन्ने भनाइ रहँदा यसको असर विद्यार्थीमा नपरोस् भनी सो बैठकको छलफलपछि कसरी र कहिले विद्यालय खोल्न उपयुक्त हुन्छ, त्यसै गरिने महानगर प्रमुख चिरीबाबु महर्जनले बताए । उनले भने, “काठमाडौँ उपत्यकाका नगरप्रमुखसँग छलफल गरेर विद्यालय खोल्दा सबैमा एकरूपता पनि आउनेछ ।”

अभिभावक र सम्बन्धित विज्ञको सकारात्मक सुझावपछि सही समयमा विद्यालय खोलिने भएको महानगरपालिकाका शिक्षा शाखा उपसचिव महेन्द्रबहादुर क्षेत्रीको भनाइ छ । महालक्ष्मी नगरपालिकामा कोरोना जोखिम अझै रहँदा तत्काल विद्यालय खोल्ने अवस्था नरहेको शिक्षा शाखा प्रमुख सुनिता योङहाङले बताएकी छन् ।

गोदावरी नगरपालिकाले भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत कात्तिक २० गते निर्णय गरेको विद्यालय सञ्चालन कार्याढाँचा, २०७७ मा उल्लेखित प्रावधानलाई पूर्णपालना गर्दै तोकिएको स्वास्थ्य मापदण्ड पूरा गरी पठनपाठन गर्ने र गराउने भनी अनुरोध गरिसकेको शिक्षा शाखा प्रमुख देवीप्रसाद उपाध्यायले बताए । उनले भने, “कम विद्यार्थी भएका विद्यालयमा मास्क, स्यानिटाइजर र भौतिक दूरी कायम गर्न लगाउने, सम्भव भएका विद्यालयमा वैकल्पिक प्रणाली अपनाउने र सम्भव नभएका विद्यालयमा उपयुक्त सिकाइ विधि पालना गर्नेछौँ।”

दक्षिण ललितपुर वाग्मती गाउँपालिका शिक्षा समिति बैठकले सम्भव भएका कुरालाई पालना गरेर अघि बढ्न आग्रह गरिसकेको शिक्षा शाखा प्रमुख शेषकान्त पौडेलले बताए । महाँकाल गाउँपालिकामा विद्यालय खोल्ने निर्णय भइसकेको छैन । मन्त्रालयले जारी गरेको निर्देशिकाबमोजिम आफ्नो अनुकूलताअनुसार विद्यालय खोलिने भएको शिक्षा शाखा प्रमुख ओमप्रसाद जोशीले बताए ।

कोञ्ज्योसोम गाउँपालिकामा विद्यार्थी सङ्ख्या र कक्षाकोठाअनुसार अध्ययन र अध्यापनलाई अघि बढाइरहेको शिक्षा शाखा प्रमुख विष्णुप्रसाद आचार्यले बताए । उनले भने, “हामीले सम्भव भएका विद्यालय कहीँ बिहान, कहीँ दिउँसो र कुनै स्थानका विद्यार्थीलाई दुईदेखि तीन घण्टा मात्र भए पनि सिकाइरहेका छौँ ।”



प्रतिक्रिया दिनुहोस्