Logo

नेकपा मुख्यालय धुम्बाराहीमा ‘सुरक्षा थ्रेट’ ! को को असुरक्षित ?



काठमाडौं, १६ मंसिर । नेपाल कम्युनिस्ट पार्टीको मुख्यालय धुम्बाराहीमा सुरक्षा थ्रेट बढेको भन्दै आजको बैठक बालुवाटार सारियो । बैठक धुम्बाराहीमै राख्न अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जोडबल गरेका थिए । तर, सुरक्षा थ्रेट भन्दै बैठक बालुवाटारमै सारियो ।

प्रचण्डले सुरक्षा थ्रेटबारे बुझ्न खोज्दा गृह मन्त्रालयको हवाला दिइयो । गृहमन्त्री रामबहादुर थापा बादलले पनि सुरक्षा थ्रेट रहेको सुचना दिए । त्यसपछि प्रचण्ड लचिलो भएर बालुवाटार प्रवेश गरेका थिए ।

यतिबेला देशमा सुरक्षा थ्रेट को को बाट छ भन्ने विषय गम्भीर छ । नेत्रविक्रम चन्द विप्लव समूहको खतरा रहेको विषय गृहको रिपोर्टमा बेला बेलामा आउने गर्छ । विप्लवले हालैमात्र नेकपा नेताहरुलाई चेतावनी दिइसकेका छन् । तर, उनको दलले अहिलेसम्म कुनैपनि नेकपा नेता कार्यकर्तामाथि भौतिक आक्रमण गरिसकेको छैन ।

राजावादीहरुबाट पनि सुरक्षा थ्रेटको विषय आउने गरेको छ । पछिल्लो समय उनीहरु निकै सक्रिय भएका छन् । दिनहुँ देशका विभिन्न स्थानमा विरोध प्रदर्शन गर्छन् । तर, राजावादीले भौतिक आक्रमण अहिलेसम्म गरेका छैनन् । यस्तो अवस्थामा नेकपाका नेताहरु प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ मध्ये कसलाई सुरक्षा थ्रेट बढेको भन्ने विषय गम्भीर बनेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीमाथि सुरक्षा थ्रेट बढेर उनी धुम्बाराही जान नमानेको पनि हुनसक्छन् । संवेदनशील स्वास्थ्य अवस्थाका प्रधानमन्त्रीलाई कमैमात्र बालुवाटार बाहिर जान भनिएको छ । उपप्रधानमन्त्री इश्वर पोखरेल र अर्थमन्त्री विष्णु पौडेललाई पनि सुरक्षा थ्रेटको कुरा आउन सक्छ । यसबारे प्रष्ट नपारिएपनि यही बहानामा ओलीले प्रचण्डलाई वाध्य बनाएर बालुवाटारमा पार्टी बैठकका लागि आउन वाध्य पारे ।



प्रतिक्रिया दिनुहोस्