Logo

चक्रेलाई खानतलासीपछि डनहरु सतर्क



काठमाडौं, १६ मंसिर । काठमाडौं परिसर र अपराध महाशाखामा नयाँ नेतृत्व आउने बितिक्कै विगतमा आक्रामक कार्यशैली देखाउँथे । नयाँ हाकिम आएपछि केही गुन्डा र हुन्डी कारोबारी पक्राउ गर्नु तथा होटलहरुमा छापा हान्नु एउटा ‘चलन’ नै बनेको थियो ।

केही वर्षयता यस्तो चलन कम भयो । सेटिङ मिलाउनका लागि यसरी पक्राउ र छापा हान्ने गरेको भन्दै प्रहरीको आलोचना भएपछि यस्तो चलन रोकियो । गत साता काठमाडौं परिसरमा आएका एसएसपी अशोक सिंहले भने पुरानै चलन ब्युँताएका छन् ।

परिसर आएको एक साता नहुँदै उनले गुन्डा अप्रेसन सुरु गरेका छन् । उनको निर्देशनमा आइतबार काठमाडौंका पुराना डन चक्रे मिलन भनिने मिलन गुरुङलाई खानतालासी लिइएको छ । दरबारमार्गमा उनी चढेको गाडी रोेकेर प्रहरीले खानतालासी लिएको हो ।

यो घटनाले अन्य गुन्डानाइकेहरु नेता र अन्य प्रहरीमाथि एसएसपी सिंहलाई सेटिङ मिलाउनतर्फ लागेका छन् । काठमाडौंमा अहिले पुराना डनहरु सुस्ताएका छन् । सांसद भएपछि तथा ठमेलको व्यापार सुस्ताएपछि दीपक मनाङे धेरै जसो पोखरातिरै बस्न थालेका छन् । गणेश लामा व्यापार नेपाली कांग्रेसको राजनीतिमा लागेका छन् । मिनकृष्ण महर्जन ढुंगाखानीबाट कमाएको पैसाबाट कांग्रेसको राजनीतिमै सक्रिय छन् । राजु गोर्खाली अस्पताल तथा रेस्टुरेन्टको व्यापारमा लागेका छन् । उनी अझै पनि बेला बेला विवादमा पर्ने गरेका छन् । स्वयम्भु क्षेत्रका बाघे निर्माण सामाग्रीको व्यवसायमा आबद्ध छन् ।

काभ्रेली समूहका दावा लामा, विष्णु लामा लगायत केही अझै सक्रिय रहेको प्रहरीको सूचना छ । ठुला डनहरु सुस्ताएपनि टोलेहरुको दादागिरी भने पूर्ण रुपमा बन्द हुन सकेको छैन । त्यसतर्फ प्रहरीले ध्यान दिन सकेको छैन ।

पछिल्लो समय गुन्डागर्दी गिट्टी, बालुवा तथा ढुंगाखानीमा छ । त्यो क्षेत्रमा पैसा धेरै भएकाले गुन्डाहरु त्यसैमा लगानी गर्न थालेका छन् । अन्य व्यक्तिहरुले पनि गुन्डासँग सेटिङ नमिलाई चलाउन नसक्ने अवस्था छ । राजनीतिक दलको आवरणमा यस्ता व्यवसायमा उनीहरु लागेका हुन् । केही भने मिटर ब्याज र जुवाको धन्दामा रहेको स्रोत बताउँछ ।



प्रतिक्रिया दिनुहोस्