Logo

भावी आइजीपी सुनिश्चित गर्न विश्वराजले यसरी मारे बाजी



काठमाडौं, १६ मंसिर । नेपाल प्रहरीमा एकजना एआइजीको दरबन्दी थप्दा नै डिआइजी विश्वराज पोखरेलको बढुवा सम्भावना देखिएको थियो । नभन्दै बढुवा समितिले उनलाई नै बढुवाका लागि सिफारिश गर्यो ।

३ मसिरमा एक एआजीको दरबन्दी थप्ने मन्त्रिपरिषदको निर्णय विश्वराजलाई नै लाइनमा राख्नका लागि थियो भन्ने देखिएको थियो । नभन्दै पोखेलको बढुवा सिफारिश भयो । अब उनको बढुवाको निर्णयलगत्तै नेपाल प्रहरीमा चारजना एआइजी हुनेछन् । हालका एआइजीहरु हरिबहादुर पाल, निरजबहादुर शाही र प्रद्युम्न कार्की आइजीपी शैलेश थापा क्षेत्रीका ब्याची हुन् । पोखरेल त्यसपछिको ब्याची हुन् । उनले आइजीपी क्षेत्रीका ब्याचीलाई उछिनेर विगतमै डिआइजीमा बढुवा पाएका थिए । हालका आइजीपीसहित तीनजना एआइजीलाई उछिनेर आइजीपी बन्ने चर्चा पनि नचलेको होइन । तर, त्यो सफल भएन ।

पोखरेल आइजीपी क्षेत्रीसहितको उनका ब्याचीहरु २०७९ वैशाखमा सेवानिवृत्त भएपछि आइजीपी बन्ने निश्चितप्रायः भएको छ । उनका ब्याचीहरु केही महिना अघिमात्र डिआइजीमा बढुवा भएका छन् । पोखरेलका लाग आइजीपीको ढोका खुलेमा २० वैशाख २०७९ देखि २९ चैत्रसम्म गरी ११ महिना प्रहरीको नेतृत्व सम्हाल्नेछन् ।

डिआइजी विश्वराज पोखरेल इन्स्पेक्टर हुँदा नै राम्रा ठाउँमा इञ्चार्ज पाएकामा पर्छन् । उनी डिएसपी हुँदा बानेश्वर वृत्तको इञ्चार्ज थिए । मोरङ प्रहरी प्रमुख समेत बनेका पोखरेल महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुख, प्रहरी प्रवक्ता हुँदै महानगरीय प्रहरी कार्यालय रानीपोखरीको प्रमुख समेत भए । काममा अहोरात्र खटिनसक्ने प्रहरी अधिकृतका रुपमा पोखरेलको परिचय बनेको छ । उनी पूर्व आइजीपीहरुले पनि रुचाएका अधिकृत हुन् ।

उच्च राजनीतिक नेतृत्वसँग पनि उनको राम्रो सम्बन्ध छ । कार्यक्षमतासँगै सत्तारुढ र प्रमुख प्रतिपक्षी दलका प्रभावशाली नेताहरुसँग सुमधुर सम्बन्ध राख्न सकेकाले उनलाई लाभ पुगेको छ । यसकारण पनि उनले बढुवाका बेलामा पटक पटक बाजी मारेका छन् ।



प्रतिक्रिया दिनुहोस्