Logo

भविष्यको विकासको लागि नेपालले भारत र चीन दुवै देशसँग फाईदा लिनुपर्छ : डा. महत



‘अहिले राजतन्त्र फर्किने सम्भावना म देख्दिन्’
काठमाडौं, १६ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले नेपालले भारत र चीन दुवै देशसँग सुमधुर सम्बन्ध राख्नुपर्नेमा जोड दिएका छन् । नेपालले आफ्नो हितलाई ध्यानमा राखेर भारत र चीनसँगको सम्बन्ध सुदृढ गर्नुपर्ने उनको भनाई छ ।

आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता महतले भने,‘भारतसँग नेपालको त्रेतायुग र द्धापरयुगदेखिको सम्बन्ध हो । चीनसँगपनि सातौं शताब्दीदेखि सम्बन्ध हो । चीनसँगपनि एकदमै लामो सम्बन्ध छ । नेपालको लोकेसन नै रणनीतिक छ, विश्वको सबैभन्दा ठूलो जनसंख्या भएको र विश्वकै सबैभन्दा दोस्रो ठूलो ईकोनोमी चीन हो । भारत पाँचौं आर्थिक संख्या हो । दोस्रो कुल जनसंख्या भारतसँग छ । हामी दुवै देशको बीचमा छौं । दुवै देशसँग प्राचिन सम्बन्ध छ ।’

क्लबका सभापति ऋषि धमलाको सभापित्वमा आयोजित साक्षात्कारमा बोल्दै नेता महतले भारतसँग नेपालको सम्बन्ध अत्यन्तै पूरानो र घनिष्ठ रहेको सुनाए । उनले भने,‘भारतसँग सामाजिक सम्बन्ध, धार्मिक, सांस्कृतिक सम्बन्ध बढि छ । साथसाथै, आर्थिक सम्बन्ध बढि छ । नेपालको कुल व्यापारको ६९ प्रतिशत आयात भारतबाट हुन्छ । चीनबाट १५ प्रतिशत हुन्छ । ५८ प्रतिशत निर्यातपनि हाम्रो भारतसँग छ । व्यापारको हिसाबले पनि भारत र चीनसँग अत्यन्तै नजिकको सम्बन्ध छ । लगानीको कुरा गर्दा भारतबाट आएको छ। चीनपनि लगानी भित्रिँदैछ । नेपालमा आउने पर्यटकपनि भारत र चीनबाट आउँछन् । भारतसँग आवातजावात बढि छ । चीनसँग हाम्रो राष्ट्रिय, राजनीतिक र आर्थिक सम्बन्ध विस्तार हुँदैछ । भविष्यको विकासको लागि दुई देशबीच दुवै देशसँग फाईदा लिनुपर्छ । लगानीको स्रोतको रुपमा, पर्यटनको स्रोतको रुपमा र हाम्रो मार्केट सोर्सको रुपमा पनि भारत र चीन नै महत्वपूर्ण हुन् । आर्थिक सहयोग पनि दुवै मुलुकबाट प्राप्त गरेका छौं । दुवै मुलुकसँग सम्बन्ध राम्रोसँग राख्नुपर्छ ।’

उनले सम्बन्धको कुरा गर्दा चीनको विरोध, भारतको समर्थन, चीनको समर्थन र भारतको विरोध भन्ने कुरा सुनिएपनि नेपालले आफ्नो राष्ट्रिय हितको लागि दुवै देशसँग समुधुर सम्बन्ध राख्नुपर्ने जोड दिए । महतले नेपालले भौगोलिक अखण्डता र आफ्नो सार्वभौमिकता मेन्टेन गर्दै सुमधुर सम्बन्ध राख्नुपर्ने बताए । उनले भारतसँग धेरै विवाद रहेको सुनाउँदै ती नयाँ विषय नभएको पनि सुनाए ।

त्यस्तै, चीनसँग पनि नेपालको सिमा विवाद रहेको उनले उल्लेख गरे । महतले भने,‘हुम्लामा कतिपय पहिलेका खम्बाहरु, पिल्लर सारिएका छन् भन्ने यता/उता चर्चामा आएका छन् । यसबारेमा निश्पक्ष ढंगले विज्ञहरु बसेर हेर्नुपर्छ । छानबिन गरेर टुँगो लागोस् । भारतसँगको सिमाना पनि टुँगो लगाउनुपर्छ । भारत र चीनसँगको सिमा विवाद टुँगो लगाउनुपर्छ । अहिले भएका सानातिना समस्या समाधान गर्दै जानुपर्छ । भारतबाट रअका प्रमुख नेपाल आए । सेना प्रमुख पनि नेपाल आए । विदेश सचिव पनि आए । यी सबै रुटिन खालका भिजिट हुन् । प्रधानमन्त्री ओलीले मेरो सरकार ढाल्नको लागि (भारततिर संकेत गर्दै) षड्यन्त्र गर्दैछ भनेर बोल्नुभएको थियो । भारतले हामीले कुनै भूमिका खेलेका छैनौं भनेर देखाउन खोजेको हो कि । भारतीय सेनाप्रमुखको भिजिट पनि नियमित हो । हामी दुवै देशबीच एक अर्काले मानार्थ दिने चलन छ । अहिले भर्खरै भारतीय विदेशसचिव आए । नेपाल र भारतबीच जे÷जति ईस्यु छन्, विवादका विषयहरु छन्, अब हल गरिनुपर्छ । परराष्ट्रमन्त्रीलाई भारतमा निमन्त्राण आएको जानकारीमा आएको छ। यो सकारात्मक ुकरा हो । भारतसँगको सम्बन्ध अलिकति तल÷माथि भएको थियो । अब यसले सुधार गर्न मद्दत पुगोस ।’

त्यस्तै, उनले चिनियाँ रक्षामन्त्री पनि नेपाल आएको उल्लेख गर्दै भने,चीनका रक्षामन्त्रीपनि आएका छन् । हामीले चीनबाट पनि सहयोग प्राप्त गरिराखेका छौं । चीनसँगको सम्बन्ध पनि बलियो हुँदै जाओस् । चीनसँग सम्बन्ध बनायो भने भारतको मूल्यमा चीनसँग, चीनको मूल्यमा भारतसँग भन्ने त्यो हुँदैहुँदैन् । दुवैसँग राम्रो सम्बन्ध हुनुपर्छ । सन्तुलित सम्बन्ध हुनुपर्छ । समस्या छन् भने समाधान गर्दै जाऔं । विवाद गर्नु जरुरी छैन् । नेपाल दुई शक्तिशाली राष्ट्रको विचमा छ, एज अ ईन्भेष्टमेन्ट, पर्यटन सोर्सको रुपमा लिनुपर्छ ।’

उनले भारत र चीनको सम्बन्ध सुधार गर्नपनि नेपालले पनि भूमिका खेल्न सक्ने सुनाए । महतले थपे,‘भारत र चीनबीच आर्थिक सम्बन्धको लागि नेपालले प्रभावकारी भूमिका खेल्न सक्छ, व्यापार सम्बन्ध बढाउनको लागि नेपाललाई एउटा ब्रिजको रुपमा अघि बढाउन सकिन्छ । भविष्यमा पनि दुई देशबीचको सम्बन्ध, अझै सुदृढ हुनुपर्छ । नेपालको परराष्ट्र नीति पनि त्यही ढंगले अघि बढाउनुपर्छ ।’

अहिले राजाको पक्षमा खासगरी राजतन्त्र ल्यानुपर्यो भनेर सडकमा जुलुश तथा प्रदर्शन भयो नि ? भनेर पत्रकारले सोधेको प्रश्नमा उनले भने,‘अहिले राजाको पक्षमा, राजतन्त्र ल्याउनुपर्यो, २०४७ को संविधान पूर्नस्थापना गर्नुपर्यो, हिन्दूराज्य बनाउनुपर्यो भनेर ठाउँ÷ठाउँमा जुलुश भैरहेको सुनें । आफ्नो विचार र धारणाअनुसार विचार उठाउने, आवाज उठाउने अधिकार सबैको छ । संविधानमा राजनीतिक व्यवस्थामा राम्रोसँग व्यवस्थापन भएको छैन् । भ्रष्टाचार भैरहेको समाचार छन्, असन्तुष्टि छन् । त्यसको परिणाम पनि यो अहिलेको विरोध तथा प्रदर्शन भएको हो । संविधान कार्यान्वयन गर्ने चूनौति छन् । जनताको आवश्यकत्ताको कदर गर्ने कुरामा सरकार जिम्मेवार हुनुपर्छ । सुशासनको आवश्यकत्ता छ । मुखलेमात्रै यो गर्छु र उ गर्छु भनेर हुँदैन् । क्षमता देखाउनुभयो । काम गरेर देखाउनुपर्छ । प्रतिफल राम्रो हुनुपर्छ । विकृत ढंगले खर्च हुनुभएन । प्रतिफल निस्किने ढंगबाट लगानी हुनुपर्छ । आर्थिक स्थितिलाई सुधार गरेर सम्पन्न गर्नुपर्छ । सुशासन बढाउनुपर्छ । विरोधहरु कम गर्न काम गर्नुपर्छ । सरकार जिम्मेवारी पूरा गर्न जति जति कमजोर हुँदै जान्छ, त्यति त्यति सरकारको विरोधमा प्रदर्शन हुन्छन् । जनआकांक्षा पूरा गर्नेतिर सरकार लागेन, अहिले खासै उपलब्धि भएन । अहिले सत्तारुढ दलभित्र लडार्इँ छ । सरकारले योग्यता र क्षमताको आधारमा अवसर दिनुपर्छ । देशलाई राम्रो सुशासनको आवश्यकत्ता छ । राजनीतिक क्षेत्रमा सुधार हुनुपर्यो ।

राजसंस्था फर्कनसक्ने सम्भावना छ ? भन्ने पत्रकारको अर्को जिज्ञासामा उनले अहिले नै आफूले त्यो सम्भावना नदेखेको स्पष्टपारे । उनले भने,‘अहिले नै म सम्भावना देख्दिन् । आवाज उठाउने अधिकार छ । संविधान सफल हुन सकेन, कार्यान्वयन हुन सकेन भने त्यो आवाज बढ्दै जान्छ । जनताका आकांक्षा पूरा गर्न सक्यौं, वचनअनुसार काम गर्न सकियो भने राम्रो हुन्छ । त्यो सम्भावना छैन, तुरुन्तै छैन् । व्यववस्थापनमा सुधार ल्याउनुपर्छ । सुधार गर्न जरुरी छ । उपलब्धि भएको खण्डमा, विकल्पमा जानुहुँदैन् ।’

फरक प्रसँगमा उनले आफ्नो पार्टीको महाधिवेशनको तयारी भैरहेको सुनाए । उनकाअनुसार क्रियाशिल सदस्यता जिल्ला/जिल्लाबाट यो महिनाभित्र आईपुग्नुपर्छ भन्ने प्रस्ताव छ । महाधिवेशन निश्पक्ष ढंगबाट सम्पन्न गर्नुपर्छ भनेर आफूहरुले आवाज उठाएको पनि महतले सुनाए । उनले भने,‘हामीले त विधिसम्मत काम हुनुपर्यो भनेका छौं । विधानअनुसार, नीतिअनुरुप काम हुनुपर्छ । बिग्रिएको कुरा सधाुर गर्नको लागि आन्तरिक रुपमा छलफल तथा वार्ता भैराखेको छ। फागुनमै अधिवेशन गर्ने सम्भावना कमै छ । दुई÷तीन महिना ढिलो हुन्छ । तर, जेठभन्दा उता जाँदैन् ।’

हिन्दूराज्य कायम गरिनुपर्छ भनेर कसैले आवाज उठाउँदैमा यसमा आपत्ति गर्नुनपर्ने उनको भनाई छ । उनले थपे,‘कांग्रेसभित्र पनि केही साथीहरुले हिन्दूराज्यको आवाज उठाएका छन् । आवाज उठाउनु नै अपराध होईन् । संविधान संशोधन गरेर दुई तिहाईले पारित गर्नुपर्छ । आवाज उठाउँदैमा आपत्ति जनाउनुहुँदैन् ।’

ट्रान्परेन्सी ईन्टरनेश्नलको रिपोर्टमा सरकारले त्यो आरोप भएकोले स्विकार नगर्ने भनेर भनेको विषयमा सोधिएको प्रश्नमा उनले भने,‘त्यो त सर्भेको आधारमा उनीहरुले भनेको हो । प्रतिवेदन हेर्दा र उनीहरुको विचार हेर्दा प्रधानमन्त्रीले भ्रष्टाचारीलाई सुरक्षा दिएको कुरा रिपोर्टमा आएको छ ।’ उनले संसदको अधिवेशन चालु गर्नुपर्नेमा पनि जोड दिए । उनले भने,‘बजेट अधिवेशनपनि चाँडै नै अन्त्य गरियो । बजेट सेसन दशैंसम्म जान्थ्यो । तर, यति लामो समयसम्म संसद ग्याप हुनुहुँदैन थियो । मेरो आवाज पनि त्यही हो ।’

 



प्रतिक्रिया दिनुहोस्