Logo

प्रचण्डको प्रस्ताव रोक्न असफल भएसँगै ओलीमाथि संकट बढ्यो



काठमाडौं, १६ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओली पार्टी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्ताव रोक्न असफल भएका छन् । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका ओलीले आज बसेको सचिवालय बैठकमा उक्त प्रस्ताव रोक्न खोज्दा असफल भएका हुन् ।

पार्टी बैठकमा दुवै अध्यक्षको प्रस्ताव छलफलका लागि प्रस्तुत भएपछि बोल्ने क्रम शुरु भएको थियो । ओलीले प्रचण्डको प्रस्ताव छलफल गर्नका लागि योग्य नभएको भन्दै रोक्न प्रस्ताव राखेका थिए । उनले प्रचण्डले बोल्दा बोल्दै पनि प्रतिवाद गरेका थिए । तर, उक्त प्रस्ताव छलफलमा गइसकेको भन्दै अधिकांश सचिवालय सदस्यले ओलीको प्रस्ताव अस्वीकृत गरिदिएका थिए ।

निकै तनावका बीच भएको आजको सचिवालय बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डले वादप्रतिवाद गरेका थिए । प्रचण्डलाई ओलीले बोल्दा बोल्दै रोक्न समेत खोजेका थिए । त्यसपछि प्रचण्डले पार्टीका अन्य सचिवालय सदस्यहरुको साथ लिएर आफ्नो भनाई राखेका थिए ।

भोलि पनि बस्ने गरी आज स्थगित सचिवालय बैठकमा दुवै अध्यक्षको राजनीतिक प्रस्तावमाथि छलफल हुनेछ । त्यसपछि १८ मंसिरमा स्थायी कमिटी बैठक डाकिएकाले यसबारे थप छलफल अगाडि बढ्ने बुझिएको छ ।

यसैगरी, प्रचण्डको आफूमाथि गम्भीर आरोपसहितको प्रस्ताव रोक्न नसकेपछि ओलीमाथि संकट बढेको छ । उनले छलफलमै अगाडि नबढाउन खोजेपनि अल्पमतमा परेपछि प्रचण्डको प्रस्तावको पक्षमा बलियो मत देखिएको छ । यसले ओलीमाथि चुनौती थपिदै गएको छ ।



प्रतिक्रिया दिनुहोस्