Logo

आगामी सातादेखि नेपाल–भारत नियमित उडान



काठमाडौं, मंसिर १७ । कोरोना भाइरस जोखिमका कारण लामो समयदेखि बन्द रहेको नेपाल–भारत हवाई उडान अर्को सातादेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ । मन्त्रिपरिषद्को बैठकले नै यस विषयमा निर्णय गरेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्को साताबाट नेपाल–भारत हवाई उडानका लागि अनुमति दिने तयारी गरेको हो ।

मन्त्रालयका प्रवक्ता कमल प्रसाद भट्टराईले नेपाल भारत उडानका लागि अनुमति दिने तयारी भएको जानकारी दिए । बढीमा पनि अबको १० दिनभित्र उडान शुरू हुने मन्त्रालयको भनाइ छ ।

‘नेपाल भारत उडान गर्नेसम्बन्धी तयारी अन्तिम चरणमा छ । सुरक्षाका आवश्यक मापदण्ड अपनाएर यथाशीघ्र उडान शुरू गर्ने मन्त्रालयको तयारी छ,’ उनले भने ।

हाललाई दैनिक काठामाडौं–दिल्ली दुई उडान गर्ने तयारी छ । नेपाल र भारतका एकरएक वायुसेवा कम्पनीलाई उडानका लागि अनुमति दिने बताइएको छ । त्यसपछि आवश्यकताका आधारमा उडान संख्या वृद्धि गर्न सक्ने मन्त्रालयको भनाइ छ ।

भारत सरकारले नेपालाई एयर बबल अवधारणाका आधारमा उडान गर्न प्रस्ताव गरेको थियो । उक्त प्रस्तावलाई गत मङ्सिर १० गतेको मन्त्रिपरिषद्को बैठकले स्वीकार गर्ने निर्णय गरिसकेको छ । सोही निर्णयको आधारमा मन्त्रालयले भारतलाई एयर बबल अवधारणाको सकारात्मक रेस्पोन्स पठाउने तयारी गरेको छ । त्यसपछि नेपाल नागरिक उड्डयन प्राधिकरण र उड्डयनसम्बन्धी भारतीय नियामक निकायबीच प्राविधिक सम्झौता हुनेछ । प्रवक्ता भट्टराईका अनुुसार नेपाल नागरिक उड्डयन प्राधिकरण र भारतीय निकायबीच उडानसम्बन्धी मापदण्ड बनेपछि उडान शुरू हुने आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्