Logo

घरमै बसेर सरुवा माग्ने परिपाटी शुरु



काठमाडौं, मंसिर १७ । निजामती कर्मचारीले घरमै बसी अनलाइनबाटै सरुवाको आवदेन दिन सक्ने प्रणाली शुरु गरिएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अनलाइनबाटै सरुवाको निवेदन दिने व्यवस्था शुरु गरेको हो । यो प्रणाली शुरु भएपछि अब सरुवाका लागि निजामती कर्मचारी सिंहदबार धाउन नपर्ने भएको छ । संघअन्तर्गतका कर्मचारीले घरमै बसी अनलाइनबाटै सरुवाको आवेदन दिन सक्ने भएका छन् ।

निजामती कर्मचारीको व्यवस्थापनका लागि सरुवा, काज र कामलाई सूचना प्रविधिमैत्री बनाउन सो प्रणाली शुरु गरिएको मन्त्रालयले प्रवक्ता वसन्त अधिकारीले जानकारी दिए । कर्मचारी व्यवस्थापन छिटो–छरितो, विश्वसनीय र त्रुटिरहित बनाउन यो प्रणाली शुरु गरिएको प्रवक्ता अधिकारीले दाबी गरे ।
मन्त्रालयको वेबसाइटमा लगइन गरी सफ्टवेयरले माग गरेको विवरण भर्न पनि मन्त्रालयले आग्रह गरेको छ ।

सो सफ्टवयेरले निजामती किताबखानामा रहेको वैयक्तिक विवरणका आधारमा काम गर्ने जनाउँदै मन्त्रालयले वैयक्तिक विवरण अद्यावधिक गरेर मात्र निवेदन पेस गर्न आग्रह गरेको छ ।
यसबाट सरुवामा हुने अनावश्यक चलखेलमा धेरै नियन्त्रण हुने मन्त्रालयले दाबी गरेको छ ।

त्यसका लागि मन्त्रालयले वेबसाइटमा राख्ने अनलाइन सरुवा निवेदन दर्ता प्रणालीमा गएर कम्तीमा पा“चवटा रोजाइका ठाउँसहित आवेदन दिनुपर्ने भएको छ ।

प्राप्त निवेदनमध्ये अवधि तथा ज्येष्ठताका आधारमा प्राथमिकताअनुसार कर्मचारी सरुवा हुने मन्त्रालयले जनाएको छ ।

कर्मचारीको सहजतासँगै काममा पनि बाधा नपरोस् र मन्त्रालयमा पनि भिडभाड नहोस् भन्नका लागि अनलाइनबाटै सरुवा निवेदन प्रणाली शुरु गरिएको मन्त्रालयका सचिव एकनारायण अर्यालले बताए ।

अब दुर्गम क्षेत्रका कर्मचारीले सरुवा निवेदन बोकेर मन्त्रालयसम्म पुगिरहनुनपर्ने बताउँदै सचिव अर्यालले भने– ‘न त मन्त्रालयका कर्मचारीको अधिकांश समय निवेदन लिनै र मान्छे भेट्नमा खर्चनुपर्नेछ । यसले सरुवामा हुने अनावश्यक चलखेललाई पनि रोक्ने मन्त्रालयले विश्वास लिएको छ ।’

सचिव अर्यालका अनुसार यसले सहज, पारदर्शीका साथै मन्त्रालयको अनावश्यक भारसमेत घटेर सरुवाबाहेकका काममा पर्याप्त ध्यान दिन सकिनेछ आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्