Logo

त्रिविले दियो कक्षा सञ्चालन गर्न निर्देशन



काठमाडौं, मंसिर १७ । त्रिभुवन विश्वविद्यालयले स्थानीय तहसँग समन्वयन गरेर क्याम्पस खोल्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा क्षेत्र सञ्चालन गर्ने गरी कार्यढाँचा सार्वजनिक गरेसँगै त्रिविले सबै क्याम्पस खोल्न निर्देशन दिएको हो ।

त्रिविका रजिस्टार प्राडा पेशल दाहालले जोखिम नभएका र कम जोखिम भएका जिल्लाका क्याम्पस प्रमुखलाई क्याम्पस खोल्न निर्देशन दिएको जानकारी दिए । उनले भने– ‘ती जिल्लामा जोखिम न्यूनीकरण गरी कक्षा सञ्चालन गर्न निर्देशन दिएका छौं ।’

त्रिवि रजिस्टार कार्यालयले हिजो मंगलबार सार्वजनिक सूचना जारी गरी त्रिविअन्तर्गत सबै क्याम्पस, विभाग र स्कुलले स्थानीय तहले तोकेको समयसीमा र मापदण्ड रहने गरी क्याम्पस खोल्न निर्देशन दिएको थियो ।

रजिस्टार प्राडा दाहालका अनुसार जोखिम बढी भएका उपत्यका र केही शहरी क्षेत्रमा अवस्था हेरेर निर्णय गर्न र जोखिम कम भएका जिल्लामा तत्काल खोल्ने गरी निर्देशन दिएको छ ।

त्रिविले यही २८ गतेदेखि सबै तहको परीक्षा सञ्चालन गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ । चैतदेखि रोकिएका परीक्षा माघ पहिलो सातासम्म सम्पन्न गर्ने गरी कार्यतालिका सार्वजनिक गरिसकेको छ । रजिस्टार कार्यालयले भौतिक उपस्थितिमा परीक्षा लिने र लगत्तै कक्षा सञ्चालन गर्नेगरी तयारी थाल्न सबै निकायलाई निर्देशन दिएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्