Logo

यस्तो छ सेयर बजार बढ्नुको रहस्य, दुई हजार बिन्दुमाथि नेप्से



काठमाडौं, मंसिर १७ । धितोपत्र बजारले बुलिसको यात्रा तय गर्दै नेप्से २ हजार नाघ्दा नेपाल धितोपत्र बोर्डले संयमित भएर लगानी गर्न आग्रह गरेको छ भने प्राथमिक बजारमा १७ ओटा कम्पनीका आईपीओ आउँदैछ ।

सेयर मार्केटको दोस्रो बजारमा कारोबार रकम र परिसूचकले सँगै उचाइ लिइरहँदा प्राथमिक बजारमा ५ अर्ब रुपैयाँबराबरको नयाँ सेयर आउन लागेको हो ।

प्रतिकित्ता १ सय रुपैयाँका आधारमा यो ४ अर्ब ८९ करोड रुपैयाँभन्दा बढीको हुनेछ । नेपाल धितोपत्र बोर्डमा आईपीओ अनुमतिका लागि आवेदन दिएका १५ र अनुमति पाइसकेका २ गरी कुल १७ कम्पनीले ४ करोड ८९ लाख कित्ताभन्दा बढीको आईपीओ जारी गर्न लागेका हुन् ।

१० वटा जलविद्युत् कम्पनी, ३ अन्य समूह, एउटा लघुवित्त र एक मर्चेन्ट बैंकका कुल ४ करोड ३० लाख ३२ हजार ८ सय ३६ कित्ता सेयर पाइपलाइनमा रहेको छ । धितोपत्र बोर्डसँग आईपीओनिष्कासनका लागि अनुमति माग्नेमा अधिकांश कम्पनी जलविद्युत् समूहका रहेका छन् ।

दोस्रो बजार बुलिस ट्रेन्डमा माथि उक्लिरहँदा मंगलबार भने नेप्से करेक्सन मुडमा गएको छ । नेपाल धितोपत्र बोर्डले अध्ययन र अनुसन्धानसहित संयमित भएर लगानी गर्न आग्रह गरेलगत्तै नेप्सेमा केही करेक्सन भएको हो ।

मंगलबार निकै उतारचढावबीच नेप्से परिसूचक २ हजार दशमलव ४० बिन्दुमा पुगेर बन्द भएको छ । मंगलबार बजार १ हजार ९६५ दशमलव ६८ बिन्दुसम्म झरेको थियो । सोमबार १ हजार ९९७ दशमलव शून्य ५ बिन्दुमा बन्द भएको बजार मंगलबार २ हजार ९ दशमलव ४६ बिन्दुदेखि खुला भएको थियो ।

मंगलबार बजार २ हजार २२ दशमलव २६ बिन्दुसम्म पुगेर तल झरेको हो । यो दिन सोमबारको तुलनामा भने बजार ३ दशमलव ३५ अंक माथि उक्लिएको छ । नेप्से परिसूचक सामान्य अंकले बढे पनि मंगलबार ठूला कम्पनीको कारोबार मापक सेन्सेटिभ इन्डेक्स भने १ दशमलव ७७ अंकले घटेर ३८३ दशमलव ७९ बिन्दुमा झरेको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्