Logo

नेकपा संकटः अध्यक्षद्वय आरोप–प्रत्यारोपमै



काठमाडौं, मंसिर १७ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा पार्टीभित्र देखिएको संकट र विवाद औपचारिक तथा अनौपचारिक छलफलमार्फत समाधान खोजिने गरी छलफल भएको छ । छलफले सहमति खोज्ने विषयलाई गहन रूपमा लिए पनि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच भने केही चर्काचर्की भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको बैठकमा अध्यक्षद्वयबीच चर्काचर्की र आरोप प्रत्यारोप भएपछि अन्य नेताले बैठकको वातावरण शान्त बनाएको नेकपा स्रोतले जनाएको छ ।

बैठकको सुरुमै आफ्नो धारणा राख्दै प्रधानमन्त्री ओलीले अहिले बैठक राख्नुको औचित्य नभएको बताए । तर, अर्का अध्यक्ष दाहालले बैठकको औचित्यबारे प्रस्ट पार्दै बैठक किन नराख्ने? भन्दै प्रश्न गरेपछि दुवै अध्यक्षबीच चर्काचर्की र आरोप प्रत्यारोप भएको हो ।

‘सचिवालय बैठक राख्ने र नराख्ने विषयमा अलिअलि चर्काचर्की भयो तर हामीले माहोल शान्त बनाउँदै छलफललाई अगाडी बढायौं,’ नेकपा स्रोतले भन्यो, ‘औपचारिक र अनौपचारिक छलफल जारी नै राख्ने र सहमतिका साथ एकढिका भएर अगाडि बढने विषयमा हामी सहमत छौं ।’

उपाध्यक्ष वामदेव गौतमले भने अपौचारिक तथा अनौपचारिक छलफलमार्फत समाधान खोज्ने विषयमा सबै शीर्ष नेता एकमत देखिएको बताए । गौतमले तिक्ततातर्फ जान लागेको पार्टीको आन्तरिक अवस्था मित्रतातर्फ फर्काउने कोसिस भइरहेको बताए । ‘तिक्ततातर्फ जान लागेको पार्टीको आन्तरिक अवस्था मित्रतातर्फ फर्काउने गरी छलफल अघि बढेको छ, मंगलबारको सचिवालय बैठकको निष्कर्ष र सार यही हो,’ उपाध्यक्ष गौतमले भने ।

नेकपा अध्यक्षद्वय ओली र दाहालले एक अर्कालाई आरोप–प्रत्यारोप लगाउँदै लिखित रूपमै राजनीतिक प्रस्ताव पेस गरेपछि पार्टीभित्र विवाद थप बढेको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्