Logo

किन भइरहेछ राजावादी प्रदर्शन?



काठमाडौं, मंसिर १७ । प्रमुख राजनीतिक दलहरू आन्तरिक विवादमा रुमलिएका बेला लोकतान्त्रिक गणतन्त्रविरुद्ध सडकमा प्रदर्शन हुन थालेको छ ।

कोरोना भाइरसको महामारीमा पनि सरकार र राजनीतिक दलको उपस्थिति नदेखिएको भन्दै आम जनता रुष्ट बनेका बेला काठमाडौंसहित देशका विभिन्न ठाउँमा राजसंस्थाको पुनःस्थापना र हिन्दू राष्ट्रको पक्षमा प्रदर्शन भएको हो ।

करिब एक महिनादेखि वर्तमान व्यवस्थाविरुद्ध देशव्यापी रूपमा शृंखलाबद्ध प्रदर्शन भइरहेको छ । प्रदर्शनकारीले राजतन्त्र पुनःस्थापना र हिन्दू राष्ट्रको पक्षमा नारा लगाउने गरेका छन् । विभिन्न ठाउँमा विभिन्न नामबाट प्रदर्शन हुने गरेको छ । तर प्रदर्शनको नारा र उद्देश्य एउटै छ । राजावादीले सोमबार काठमाडौंमै प्रदर्शन गरे ।

उनीहरूले सोमबार दिउँसो काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरसम्म प्रदर्शन गरेका थिए । काठमाडौंको प्रदर्शन राष्ट्रिय शक्ति नेपालको नामबाट भएको थियो । उक्त संस्थाका अध्यक्ष केशरबहादुर विष्ट हुन् । विष्ट शाही कालमा मन्त्री थिए ।

सोमबारको प्रदर्शनबाट उत्साहित भएका राजावादीहरूले आगामी मंसिर २० गते पनि काठमाडौंमा कार्यक्रम गर्ने भएका छन् । सो कार्यक्रम ‘नेपालका लागि नेपाली’ नामबाट हुने बताइएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था र हिन्दू राष्ट्रका पक्षमा हुने कार्यक्रम तथा (यालीमा सक्रिय सहभागी हुन कार्यकर्तालाई उर्दी जारी गरेको छ ।

सोमबार काठमाडौंमा भएको कार्यक्रममा राप्रपाका केन्द्रीय तथा जिल्ला तहका नेताहरू सहभागी भएका थिए । प्रदर्शनकारीले पृथ्वीनारायण शाहको तस्बिर अंकित प्ले कार्ड र राष्ट्रिय झण्डा बोकेका थिए । उनीहरूले राजा आऊ देश बचाऊ, हिन्दू राष्ट्र घोषणा गर, देशभर हल्ला छ, राजा ल्याउन सल्लाह छ जस्ता नारा लगाएका थिए ।

कार्यक्रममा पार्टीको झण्डा बोकिएको थिएन । उनीहरूले राष्ट्रिय झण्डा बोकेका थिए । नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्