Logo

दुई एसपीसहित चार अधिकृत एकै दिन निलम्बित



काठमाडौं, १७ मंसिर । नेपाल प्रहरीमा दुई एसपीसहित एकैदिन चार सिनियर अधिकृत निलम्बनमा परेका छन् । प्रहरी प्रधान कार्यालयको सिफारिसमा दुई एसपी, एक डिएसपी र एक इन्सपेक्टर निलम्बनमा परेका हुन् । एसपीद्वय विमल बस्नेत र रामेश्वर प्रसाद यादब तथा इन्सपेक्टर मेघराज चौरसियालाई प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृहले निलम्बन गरेको हो ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय कर्णालीमा हुँदा अनियमितता गरेको खुलेपछि उनीहरुलाई गृहले निलम्बन गरेको प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले बताए । निलम्बन गरेर उनीहरुमाथि विभागीय कारबाही गर्न लागिएको छ । आफु मातहतकै प्रहरी कार्यालयहरुबाट मासिक रुपमा पैसा उठाएको पुष्टि भएपछि प्रहरी प्रधान कार्यालयले कारबाही प्रक्रिया अघि बढाएको थियो । उनीहरुलाई निलम्बन गरी कारबाही अघि बढाइएको प्रहरी प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले बताए ।

त्यस्तै डिउटीको समयमा होटलमा भेटिएका इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीका तत्कालिन इन्चार्ज डिएसपी भरतबादुर चौधरीलाई पनि गृह मन्त्रालयले निलम्बन गरी कारबाही प्रक्रिया सुरु गरेको छ । गत १० मंसिरमा उनी सम्पर्कविहिन भएका थिए । पछि खोज्दा डिउटी छाडेर उनी युवतीसँग होटलमा भेटिएका थिए ।

अनियमिततामा संलग्न तथा डिउटीमा ध्यान नदिनेलाई सचेत गराउन यस्तो कारबाही गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आफु बोलीमा नरम भएपनि व्यवहारमा कडा रहेकाले कारबाहीका लागि नडराउने चेतावनी दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्