Logo

धनी देशमा धमाधम कोरोनाविरुद्धको खोप, गरिब देशका जनताले पाउने कहिले ?



काठमाडौं, १७ मंसिर । धनी देशहरुले धमाधम आफ्ना नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाइदिने भएका छन् । उनीहरुले निःशुल्क खोप लगाइदिने घोषणा समेत गरेका छन् ।

सँसारमा अहिले पाँचवटा कम्पनिको भ्याक्सिन प्रयोगमा आउनलागेको छ । तीमध्ये प्रभावकारी भ्याक्सिनको प्रयोग गर्न धनी देशहरु अगाडि सरिसकेका छन् ।
बेलायतले अमेरिकी कम्पनि फाइजरको भ्याक्सिन प्रयोगमा ल्याउने भएको छ । उसले बुधबार यसलाई स्वीकृति दिइसकेको छ । केही दिनमै खोप लगाउने तयारी पनि भइसकेको छ । बेलायतले ४ करोड डज भ्याक्सिन माग गरिसकेको जनाइएको छ । यसले २ करोड मानिसलाई खोपाउन पुग्छ । ८ लाख डज भ्याक्सिन केही दिनमै आउने बीबीसीले जनाएको छ ।

अमेरिकी कम्पनि फाइजर र मोर्डनाले स्वीकृतिका लागि सरकारसमक्ष निवेदन दिइसकेका छन् । स्वीकृत भएलगत्तै ती कम्पनिको भ्याक्सिन अमेरिका र यूरोपमा प्राथमिकताका साथ प्रयोगमा ल्याइने तयारी भएको छ । महङ्गो र प्रभावकारी मानिएको भ्याक्सिन शुरुमा अमेरिका र यूरोपमा प्रयोगमा ल्याउने निश्चित गरिएको थियो । सम्भवत अमेरिकामा धेरै जनताले डिसेम्बर र आगामी वर्षको जनवरीमा भ्याक्सिन पाइसक्नेछन् ।

रुसले पनि स्पुतनिक भी भ्याक्सिन विकास गरेर प्रयोगमा ल्याइरहेको छ । आकस्मिक रुपमा यसको प्रयोग भइरहेको छ । सर्वसाधारणलाई खोप लगाउने वृहत तयारी समेत भइरहेको छ ।

खाडीका धनी मुलुकले निकै महङ्गो रकम तिरेर कोरोनाविरुद्धको भ्याक्सिन खरिद गर्ने प्रक्रिया गरिसकेका छन् । कतिपय देशमा आकस्मिक रुपमा भ्याक्सिनको प्रयोग भइरहेको छ । महङ्गो मूल्य तिर्ने भएकाले भ्याक्सिन धनी देशमै शुरुमा जानथालेको छ ।

चीनले पनि भ्याक्सिन विकास गरी धमाधम प्रयोगमा ल्याइरहेको छ । भारतले पनि भ्याक्सिन विकास र उत्पादनलाई अन्तिम चरणमा पुर्याएको छ । अबको तीन महिनाभित्र भारतका जनताले पनि भ्याक्सिन पाउने विश्वास गरिएको छ ।

गरिब देशहरुमा भने भ्याक्सिन कहिले आउने टुंगो छैन । विश्व स्वास्थ्य संगठनले समयमा सबैले भ्याक्सिन पाउने सुनिश्चित गर्ने जनाएपनि अझै कुनैपनि भ्याक्सिनलाई अनुमोदन गरेको छैन । यसले गरिब मुलुकका लागि भ्याक्सिन पाउन झन् कठिन बनाएको छ ।

विश्व स्वास्थ्य संगठनले जर्नलहरुमा प्रकाशित रिसर्च पेपरका आधारमा भ्याक्सिनको प्रभावकारितासहितको अवस्थाबारे उल्लेख गरेको छ । जसमा सबैभन्दा प्रभावकारी मोर्डना, फाइजर र स्पुतनिक भी देखाइएको छ । ती भ्याक्सिनहरु ९५ प्रतिशतसम्म प्रभावकारी भनिएको छ । अक्सफोर्ड भ्याक्सिन ६२ देखि ९० प्रतिशत प्रभावकारी रहेको उल्लेख छ । तर, यो भ्याक्सिनबारे तथ्य जर्नलमा पेपरका रुपमा प्रकाशित छैन ।

अक्सफोर्ड भ्याक्सिनको मूल्य प्रति डज ४ डलर पर्छ । यो सामान्य फ्रिजमा पनि भण्डारण गर्न सकिन्छ । मोर्डना भ्याक्सिन प्रतिडज ३३ डलर पर्ने र माइनस २० डिग्रीसम्म छ महिना भण्डारण गर्न सकिन्छ ।

फाइजरको भ्याक्सिन प्रतिडज २० डलर पर्छ । यो माइनस ७० डिग्रीमा राखेर भण्डारण गर्न सकिन्छ । गेमिलियाको स्पुतनिक भी भ्याक्सिन पनि दुई डज लगाउनुपर्छ । यो प्रतिडज १० डलर पर्छ । नियमित फ्रिजमा राखेर यसलाई भण्डारण गर्न सकिन्छ ।



प्रतिक्रिया दिनुहोस्