Logo

काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल प्रहरी नियन्त्रणमा



तनहुँ, १७ मंसिर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको तालघारीबाट दुम्सीचौर जाने रानीगाउँको पुल उद्घाटन गर्ने कार्यक्रम गर्ने र रोक्ने विषयमा विवाद हुँदा प्रहरीले पौडेलसहित काँग्रेसका नेता कार्यकर्तालाई नियन्त्रणमा लिएको हो ।

काँग्रेसका नेता कार्यकर्ताले पुल उद्घाटन गर्न रोक्न आएका प्रहरीको प्रतिकार गरेका थिए । यस क्रममा झडप भएपछि स्थिति तनावग्रस्त भएको थियो । जिल्लामा नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताले आफ्नो सरकारको पालामा पुल निर्माण भएको भन्दै उद्घाटन सरकारी तहबाट हुनुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालयमा रोक्न उजुरी दिएका थिए । प्रमुख जिल्ला अधिकारीले पत्र लेखेर उद्घाटन रोक्न भनेपनि काँग्रेस कार्यकर्ताले उद्घाटन कार्यक्रम रोक्न नमानेपछि प्रहरीले बल प्रयोग गरेको थियो ।

पुल उद्घाटन गर्न पुगेका पौडेललाई प्रहरीले नियन्त्रणमा लिने क्रममा झडप भएको थियो । त्यस क्रममा काँग्रेस नेता रामचन्द्र अधिकारी, नेविसंघ महामन्त्री दिपक भट्टराईलगायत छ जनालाई घाइते भएका छन् । पौडेलसहित केही नेता कार्यकतालाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय तनहुँमा राखेको छ । पौडेलका छोरा तथा काँग्रेस चिन्तन पौडेलले पुल उद्घाटनका क्रममा प्रशासनले बल प्रयोग गरेको बताए । उनले कम्युनिस्ट सरकारले सत्ताको उन्मादमा यस्तो व्यवहार गरेको भन्दै आपत्ती जनाए ।

यसैगरी, पुल रहेको क्षेत्रमा स्थिति तनावग्रस्त भएपछि सशस्त्र र प्रहरीको थप टोली पोखराबाट ल्याएर निषेधाज्ञा जारी गरिएको छ । उक्त क्षेत्रमा प्रहरीले निषेधाज्ञा तोड्न खोज्नेलाई लाठीचार्ज र अश्रु ग्याँसको समेत प्रयोग गरेको छ ।



प्रतिक्रिया दिनुहोस्