Logo

ओलीलाई मंसिर २० गतेसम्म मात्रै पर्खने दाहाल–नेपालको तयारी, आजको बैठकमा ओली किन गएनन् ?



काठमाडौं, १७ मंसिर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आजको सचिवालय बैठक केहीबेर बसेर स्थगित् भएको छ । आजको बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आएनन् । टाउको दुखेको कारण बैठकमा प्रधानमन्त्री ओली उपस्थित् नभएको महासचिव विष्णु पौडेलले रिपोर्टर्स नेपाल डटकमका लागि पत्रकार ऋषि धमलालाई जानकारी दिए । यसअघि मंसिर १३ गते बसेको सचिवालय बैठकमा नै ओलीले आफू आजको बैठकमा सहभागी नहुने बताईसकेका थिए । बैठकमा उपस्थित् नेताहरुले अध्यक्ष ओलीको सहभागिता आवश्यक रहेको औंल्याएपछि आजको बैठक केही समय बसेर स्थगित् भएको हो । अर्को बैठक मंसिर २० गते बस्ने तय भएको छ ।

आजको बैठकमा बोल्ने सबै नेताहरुले अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहालले यसअघिका सचिवालय बैठकमा छुट्टाछुट्टै रुपमा पेश गरेका राजनीतिक प्रतिवेदनको बारेमा छलफल गर्नको लागि दुवै अध्यक्षको उपस्थिति अनिवार्य हुनुपर्नेमा धारणा राखेका थिए । सोहीअनुसार नेताहरुले अब बस्ने सचिवालय बैठकमा ओलीको उपस्थिति हुनुपर्ने र बैठकमा पेश भएका प्रतिवेदनमाथि गम्भिर छलफल हुनुपर्ने धारणा राखेका हुन् ।

बैठकमा सहभागी वरिष्ठ नेता झलनाथ खनालले अबको बैठकमा पनि ओली उपस्थित् नभए अब प्रक्रियाअनुसार अघि बढ्ने जानकारी दिए । पत्रकार ऋषि धमलासँगको कुराकानीमा नेता खनालले भने,‘अब पनि उहाँ बैठकमा आउनुभएन भने हामी कुर्दैनौं, अब पार्टी विधानअनुसार बैठक अघि बढ्छ । हामी एउटा टुँगोमा पुग्छौं ।’ उनले अब आफूहरु ओलीलाई मंसिर २० गतेभन्दा उता नकुर्ने जनाए ।



प्रतिक्रिया दिनुहोस्