Logo

ओली-प्रचण्ड विवाद, तीन दिनपछि वारपार



काठमाडौं, १७ मंसिर । नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद चरमोत्कर्षमा पुगेको छ । अबको तीन दिनमा यसको छिनोफानो हुने निश्चितप्रायः भएको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको छुट्टाछुट्टै आरोप प्रत्यारोपले भरिएको प्रतिवेदनमाथि छलफल अगाडि बढ्दा नयाँ परिस्थिति विकास भएको छ । आज धुम्बाराहीमा बसेको बैठक अध्यक्ष ओली अनुपस्थित भएपछि केही बेरमै सकियो । अब २० मंसिरमा तय भएको बैठकले निर्णय लिने बुझिएको छ ।

आज ओली अनुपस्थित भएपछि भोलि बस्ने भनिएको स्थायी कमिटी बैठक पनि प्रभावित भएको छ । बैठक २१ गतेका लागि सारिएको छ । तीन दिनका लागि ओलीलाई समय दिएर पार्टी बैठक सामना गर्ने अल्टिमेटम दिइएको रुपमा प्रचण्ड पक्षले सन्देश दिएको छ । अबको बैठकमा पनि ओली नआए कठोर निर्णयका साथ अगाडि बढ्ने तयारी प्रचण्ड पक्षधरको छ ।

विश्वस्त स्रोतका अनुसार ओलीलाई पार्टीको कमिटीबाट कारबाही गर्ने सम्मको तयारी भएको छ । यही बुझेर उनी बैठक टार्ने र नजाने गर्न थालेका छन् ।

तीन दिनपछि हुने सचिवालय बैठकमा पनि ओली सहभागी नभए वारपारको कदम चाल्ने तयारी प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गोतम र नारायणकाजी श्रेष्ठसहितको बहुमत सचिवालय सदस्यहरुको मोर्चाले गरेको छ । उनलाई सरकारबाट फिर्ता बोलाउने सम्मको निर्णय पार्टी कमिटीको तहबाटै गरेर जाने तयारी भएको हो ।

उता ओली समूहले पार्टी कमिटीलाई अन्तरिम भन्दै निर्णय नमान्ने भनिसकेको छ । ओलीले पनि त्यस्तो कमिटीको निर्णय अमान्य हुने सचिवालयको यसअघि बैठकमा स्पष्ट पारिसकेका छन् । उनले उल्टै प्रचण्डलाई कारबाहीको चेतावनी दिएका छन् । मङ्गलबारको बैठकमा ओलीको चेतावनी र प्रचण्डको मन्तव्य रोक्ने प्रयासका कारण चर्काचर्की परेको थियो ।



प्रतिक्रिया दिनुहोस्