Logo

किटानी जाहेरी दिँदापनि बुवाको हत्यामा संलग्नहरुलाई कारबाही नगरिएको भन्दै छोरीहरु न्याय माग्दै मिडियामा



काठमाडौं, १७ मंसिर । पूर्वी रुकुमको पुठा उत्तरगंगा गाउँपालिका वडा नम्बर ८ स्थित् ७४ वर्षीया रणबहादुर घर्तीलाई सांघातिक हमलापछि हत्या भएको र उजुरी दिँदा पनि अहिलेसम्म दोषीहरु पक्राउ नपरेको भन्दै मृत्तकका परिवारहरु न्याय माग्दै मिडियामा आएका छन् ।  आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गर्दै मृत्तक रणबहादुर घर्तीका छोरीहरु भागिन्ता घर्ती, प्रकृति घर्ती र राजकुमारी घर्तीले बुवाको हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका हुन् । हत्यामा संलग्नहरुको बारेमा आफूहरुले किटानी जाहेरी दिँदापनि अपराधीहरु अहिलेसम्म पक्राउ नपर्नु दुःखद् कुरा भएको र यसले आफूहरुलाई झनै निराश बनाएको उनीहरूको भनाई छ ।

मृतक रण बहादुर घर्तीका छोरीहरुले जारी गरेको विज्ञप्ती यस्ता छ प्रेस विज्ञप्ती :

मिति : २०७७ मंसिर १७ गते
आदरणीय पत्रकारज्यूहरु

रुकुम पुर्व पुथा उत्तरगंगा गाउँपालिका वडा ८ खारखोला निवासी ७४ वर्षीया रण बहादुर घर्तीको घट्नोको विषयमा जानकारी गराउँदै हामी पीडित परिवार न्याय माग गर्दै यहाँहरुले हाम्रो आवाज सम्बिन्धत पक्षसमक्ष पुर्याउन सहयोग गर्नुहुने छ भन्ने अपेक्षा लिएका छौं । गत कात्तिक २९ गते राति ८ः३० बजे को समयमा हाम्रो बुवा रणबहादुर घर्तीलाई घरमै खाना खाएर आराम गरिरहेको समयमा स्थानीय उपेन्द्र घर्ती मगरको निर्देशनमा चक्र बहादुर घर्ती (चामे भनिने) लगायत अन्य चार पाँच जनाको समूहले आक्रमण गरि गम्भीर घाईते बनाएको र बुवाको दाङ हुँदै काठमाडौं किष्ट अस्पतालमा कार्तिक १५ गते राति १२ बजे उपचारको क्रममा निधन भयो ।

हामीले बुवाको आक्रमणपश्चात् निज उपेन्द्र घर्ती, चक्र घर्ती, चित्रा कुमारी घर्ती लगायतलाई कारबाहीको माग गर्दै प्रहरी समक्ष किटान जाहेरी दिएका थियौं । तर, हालसम्म उनीहरुलाई प्रहरीले पक्राउ गर्न सकेको छैन् । उपेन्द्रले विगतदेखि नै भूमिगत तरिकाले उक्त क्षेत्रमा चन्दा आतंक, लुटपाट, अपहरणजस्ता गतिविधि सञ्चालन गर्दै आएका थिए । मंगोल नेश्नल अर्गानाईजेशनको नाममा सैन दस्ता खडा गरी विभिन्न ठाउँमा हतियारसहित गतिविधि सञ्चालन गरि चौकी आक्रामणको समेत योजना बनाएको बेला प्रहरी हतियारसहित पक्राउ गरी कैदसमेत भुक्तान गरेको व्यक्ति हो । जेलबाट निस्केपछि पनि गाउँमा उसका पूराना गतिविधि उस्तै थिए । हाम्रो बुवा गाउँको समाजसेवी हुनुहुन्थ्यो । त्यही समाजसेवाबाट अत्तािलएर उसको समूहले चन्दा माग्ने, व्यक्तिगत जग्गा आफ्नो नाममा पास गरिदिन जस्ता दबाब दिएको थियो । उक्त कुरा नमानेपछि बुवालाई ज्यान मार्ने धम्की बारम्बार दिँदै आएको थिए ।

कात्तिक २९ गते पुर्वी रुकुमको सिस्ने गाउँपालिकाको धाउने हुँदै बालुवा देउखोलामा सेतो बाईक चढेर तीन जना अपरिचित व्यक्तिहरु लिएर चक्र बहादुर खुलेयाम गाउँ प्रवेश गरेको कुरा स्थानीयवासीले प्रत्यक्ष देखेका थिए । उनीहरुको आक्रमणबाट हाम्रो परिवारका अन्य सदस्यपनि घाईते भएका छौं । घट्ना घटेको यति लामो समय सम्म पनि अपराधीहरु पक्राउ नपर्नुले हामी झन पीडामा छौं । प्रहरीलाई उजुरी दर्ताको लागि पनि माथिल्लो निकायसँग हारगुहार गर्नु परेको थियो । अपराधीहरुले फेशबुक चलाउँदै अझै विभिन्न तरिकाबाट हामीलाई धम्की दिईरहेका छन् । प्रकाशित समाचारहरुमा कमेन्ट गरिरहेका छन् । आतंककारी गतिविधिमा संलग्न निज उपेन्द्र, चक्रेले विभिन्न जिल्लामा सैन्य दस्ता समेत यार गरिरहेका छन् भन्ने बुझिन्छ ।

सेनामा भर्ती हुन भनेर गाउँका युवाहरुलाई समेत उनीहरुले प्रलोभन देखाईरहेका थिए । यस्तो अवस्थामा पनि राज्यले आतंककारीहरुको निगरानी गर्न नसक्नु कानूनी राज्यको खिल्ली उडेको छ । यदि अपराधीहरु पक्राउ परेनन भने हामी परिवारहरु काठमाडौंबाट गाउँ फर्कन सक्ने वातावरण छैन् । तसर्थ हाम्रो माग हाम्रो बुवाका हत्याराहरु चाँडै कानूनी दायरा आएपछि हामी मात्रै नभई सिंगो गाउँलेले शान्तिको र न्यायको अनुभुति गर्ने छौं । यसको लागि सहयोग गरिदिन सम्पूर्ण न्यायप्रेमी पत्रकारज्यहरु, मानव अधिकारवादी संघ÷संस्था, नागरिक समाज, राजनीतिक दल सबैसँग हार्दिक अनुरोध गर्दछौं ।

मृत्तक रणबहादुर घर्तीका छोरीहरु :

भागिन्ता घर्ती
प्रकृति घर्ती
राजकुमारी घर्ती



प्रतिक्रिया दिनुहोस्