Logo

अध्यक्ष ओली नै नआएपछि बैठक स्थगित



काठमाडौं, मंसिर १८ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले व्यस्तताका कारण सचिवालय बैठकमा नआउने बताएपछि बुधबार सचिवालयको औपचारिक बैठक बस्न सकेन ।

प्रधानमन्त्री ओलीले मंगलबारकै सचिवालय बैठकमा बुधबार कार्य व्यस्तताका कारण उपस्थित हुन नसक्ने बताएका थिए । तर, प्रधानमन्त्री ओलीले कार्य व्यस्तताबारे जानकारी गराउँदा गराउँदै पनि अर्का अध्यक्ष पुष्पकमल दाहालले बुधबारका लागि बैठक राखेपछि ओली असन्तुष्ट भएका थिए ।

बैठक राख्ने विषयमै मतभेद भएपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०भित्रको विवाद झन्झन् चर्किँदै गएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली नआएपछि सचिवालय बैठक २० मंसिरसम्मका लागि सारिएको छ ।

२० मंसिरमा सचिवालय बैठक बस्ने निर्णय भएपछि यसअघि नै १८ मंसिरका लागि तय भएको स्थायी कमिटी बैठक २१ मंसिरका लागि सारिएको छ ।

बुधबार बैठक हुनुअघि प्रधानमन्त्री तथा अध्यक्ष ओलीले अर्का अध्यक्ष दाहाललाई बुधबार आफू बैठकमा आउन नसक्ने बताउँदा बताउँदै पनि किन बैठक राख्नुभएको हो भनी प्रश्न गरेका थिए । पार्टी महासचिव विष्णु पौडेल र सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले पनि सबैको सहमतिमा बैठक राख्नुपर्ने अडान लिएपछि बुधबारको बैठकलाई अनौपचारिक रूपमै सम्पन्न गरिएको थियो । महासचिव पौडेलले विधि, पद्धति र सहमतिकै आधारमा पार्टीका बैठक बस्नुपर्ने बताए ।

नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री बैठकमा सहभागी नभएपछि अर्को बैठक आउँदो शनिबार ९२० मंसिरमा० बस्ने गरी निर्णय भएको आजको राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्