Logo

तनहुँ घटनाप्रति कांग्रेस आक्रामक



काठमाडौं, मंसिर १८। वरिष्ठ नेता रामचन्द्र पौडेललाई पुल उद्घाटन गर्न जाने क्रममा प्रहरीले तनहुँमा पक्राउ गरेको घटनाप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आक्रामक बनेको छ ।

स्थानीय उपभोक्ता समितिको निमन्त्रणामा निर्माण सम्पन्न पुल उद्घाटन गर्न गृह जिल्ला तनहुँ पुगेका नेता पौडेललाई उद्घाटनमा जाने क्रममा प्रहरीले बुधबार दिउँसो पक्राउ गरेको थियो ।

प्रहरीले पौडेललाई धरपकड गरी पक्राउ गरेलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवाले घटनालाई सर्वसत्तावादको संकेत भन्दै सरकारको सशक्त प्रतिवाद गर्ने बताए ।

देउवाले विज्ञप्तिमार्फत कांग्रेसले अधिनायकवादी अभीष्ट पूरा हुन नदिनेसमेत भनेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘वर्तमान सरकारको अधिनायकवादी आकांक्षाको जगमा भएको यो घटनाप्रति कडा विरोध प्रकट गर्दै अधिनायकवादी अभीष्टलाई पूरा हुन नदिन कांग्रेस एक ढिक्का भएर सशक्त प्रतिरोध गर्ने चेतावनी दिन चाहन्छु ।’

देउवाले विज्ञप्ति जारी गरेपश्चात् प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत फोन गरी पौडेललाई किन पक्राउ गरिएको भनी प्रश्न गरेका छन् । सभापति देउवाका स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्री ओलीलाई देउवाले सर्वसत्तावादको अभीष्ट कांग्रेसले पूरा हुन नदिने भन्दै सरकारले त्यो अवस्थाको सामना गर्न नसक्ने चेतावनी दिएको आजको राजधानी दैनिकमा खवर छ ।

 



प्रतिक्रिया दिनुहोस्