Logo

निर्माण सामग्रीको मूल्य बढ्यो



काठमाडौं, मंसिर १८ । पूर्वाधार निर्माण सिजनको शुरुआतमै अधिकांश निर्माण सामग्रीको मूल्य बढेको छ । सिमेन्टबाहेक गिट्टीबालुवा र फलामे छडको मूल्यमा उच्च वृद्धि भएको छ । सरकारले गिट्टी, बालुवा उत्खनन र नयाँ उत्पादनमा रोक लगाउँदा र अन्तरराष्ट्रिय बजारमा फलामे छड तथा कच्चा पदार्थ बिलेटको मूल्य बढेपछि यी निर्माण सामग्रीको मूल्यमा उच्च वृद्धि देखिएको हो । यद्यपि सिमेन्टको मूल्य भने यथावत् नै रहेको छ ।

नेपालमा मङ्सिरदेखि जेठसम्मको सिजनलाई पूर्वाधार निर्माणको पिक’ सिजन नै मानिँदै आएको छ । तर, सिजनको शुरूमै अत्यावश्यक निर्माण सामग्रीको मूल्य वृद्धि हुँदा निर्माण व्यवसायीहरू चिन्तित भएका छन् । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले यतिबेला निर्माण क्षेत्र सबै कुराबाट समस्याग्रस्त भएको बताए ।

‘सरकारले अवैध उत्खननमा रोक लगाउने भन्दै गरेको निर्णयले बजारमा अहिले गिट्टीबालुवाको अभावजस्तै देखिएको छ,’ सिंहले भने, ‘यी पदार्थ पाइए पनि मूल्य भने उच्च भएको छ । केही समयअघि काठमाडौंमा रू। २२ हजारमा झारिने गिट्टीको मूल्य अहिले रू। ३० हजारसम्म पुगेको छ ।’ यतिबेला गिट्टी, बालुवाको माग अधिक हुने भए पनि अभाव शुरू हुन थालेको उनको भनाइ छ । निर्माण व्यवसायीहरूले स्टकमा रहेको सामानको मूल्य ती व्यवसायीले जथाभावी बढाएको आरोप लगाएका छन् ।

अवैध रूपमा गिट्टीबालुवाको उत्खनन र क्रशिङ उद्योग सञ्चालन हुँदा पर्यावरणमा असर गरेको, सरकारलाई राजस्व पनि नआएको र पूर्वाधार आयोजनाहरू पनि प्रभावित भएको भन्दै सरकारले कात्तिक तेस्रो हप्ता यी सामग्रीको उत्पादन तथा उत्खननमा रोक लगाएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्