Logo

बढ्यो सुनचाँदीको कारोबार



काठमाडौं, मंसिर १८ । कोरोना भाइरसको महामारी तथा मूल्य निकै बढी हुँदा प्रभावित नेपाली सुनचाँदी बजार करीब १० महीनापछि चलायमान भएको छ । विवाहको सिजनका कारण मङ्सिर महीनामा सुनचाँदीको व्यवसाय अघिपछिभन्दा बढी भएको हो ।

हाल दैनिक २० केजीदेखि २५ केजीसम्म काचो सुन खपत हुने गरेको छ । नेपालमा विवाहमा सुनका गरगहना लगाउने, गरगहना आदानप्रदान गर्ने प्रचलन छ । फलस्वरूप मङ्सिर, माघ, वैशाखजस्ता विवाहको सिजनका महीनामा सुनचाँदीको कारोबार उच्च हुने गर्छ । अहिले विवाहको समय भएकाले मङ्सिरमा व्यवसाय बढेको व्यवसायीहरू बताउँछन् ।

मूल्य निकै बढेका कारण गतवर्षदेखि नै सुनचाँदीको व्यवसाय नराम्ररी प्रभावित भएको थियो । यद्यपि, गतवर्ष पनि मङ्सिर र माघमा भने सुनको कारोबार राम्रो भएको थियो । त्यसयताका दिनमा भने सुनचाँदी बजार ठप्प थियो । तीज, दशैं, तिहारजस्ता चाडपर्वमा पनि सुनचाँदीको व्यवसाय अत्यन्त न्यून रहेको व्यवसायीको भनाइ छ । तर, मङ्सिर महीना शुरू भएपछि सुनचाँदी बजार चलायमान भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए ।

‘मूल्य बढ्दा र कोरोना भाइरसको महामारीका कारण गत फागुनदेखि सुनचाँदीको व्यवसाय अत्यन्त न्यून थियो ।

तर, अहिले भने बजार केही चलायमान भएको छ,’ उनले भने, ‘यसको मुख्य कारण नै विवाहको सिजन हो । साथै, मूल्य घट्दा पनि कारोबार बढ्न सहयोग पुगेको छ ।’
सरकारले चैत ११ गतेदेखि ४ महीनासम्म लगाएको बन्दाबन्दीको समयमा ठप्प भएको सुनचाँदी व्यवसाय बन्दाबन्दी खुले पनि चलायमान भएको थिएन । तर, अहिले भने सुनचाँदीको व्यवसाय सन्तोषजनक रूपमा अगाडि बढेको शाक्यको भनाइ रहेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्