Logo

अपाङ्‍गतामैत्री संरचना निर्माण हुनुपर्छः राष्ट्रपति



काठमाडौं, मंसिर १८ । राष्ट्रपति विद्यादेवी भण्डारीले अपाङ्‍गतामैत्री भौतिक संरचना निर्माण गर्नेतर्फ सम्बन्धित निकायको ध्यान केन्द्रित हुनुपर्ने बताएकी छन्।

राष्ट्रपतिले अपाङ्‍गता भएका व्यक्तिहरूको २९औँ अन्तर्राष्ट्रिय दिवसमा देश विदेशमा रहनुभएका फरक क्षमता भएका सबैलाई दिएको शुभकामना सन्देशमा सो कुरा उल्लेख छ ।

राष्ट्रपतिले अपाङ्‍गताप्रति समाजमा विद्यमान नकारात्मक धारणा न्यूनीकरण गर्न र अपाङ्‍गता भएका व्यक्तिप्रति समाज र सरोकारवालाको व्यवहारमा परिवर्तन ल्याउन यस दिवसको महत्व रहेको चर्चासमेत गरेकी छन् ।

“फरक क्षमता भएका व्यक्तिहरूको दैनिक जीवन सहज तुल्याउन र सार्वजनिक सेवामा उनीहरूको सहज पहुँच स्थापित गर्न अपाङ्‍गतामैत्री भौतिक संरचना निर्माण गर्नेतर्फ सम्बन्धित निकायको ध्यान केन्द्रित हुनुपर्ने मैले महसुस गरेको छु ।” राष्ट्रपतिद्वारा जारी सन्देशमा भनिएको छ ।

उनले फरक क्षमता भएका व्यक्तिहरूको क्षमता र आवश्यकता अनुसारका रोजगारमूलक एवं सीपमूलक तालिम प्रदान गरी आत्मनिर्भर बनाउनेतर्फ ध्यान जानुपर्नेमा जोड दिएकी छन् ।

 



प्रतिक्रिया दिनुहोस्