Logo

ओलीलाई फेरि अल्टिमेटम



काठमाडौं, मंसिर १८ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीभित्रको अन्तर्कलह अझै जटिल बनेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकमा पेस गरेको राजनीतिक प्रस्ताव फिर्ता नभएसम्म बैठकमा नबस्ने अडान लिएपछि विवाद थप चुलिएको हो ।

मंगलबारको सचिवालय बैठकमा निकै चर्काचर्की परेपछि बुधबार दिउँसोका लागि सचिवालय बैठक बोलाइएको थियो । तर ओलीले अडान दोहो¥याउँदै बैठकमा आउन नमानेपछि शीर्ष नेताहरुबीचको छलफलपछि एक घण्टा ढिलो गरी बैठकमा आउन ओली सहमत भएका थिए ।

तर, बैठक शुरु भएपछि उनी बालुवाटारमै भएर पनि बैठकमा सहमति नभएपछि नेताहरुले अध्यक्ष ओलीमाथि असन्तुष्टि जनाएका छन् । बुधबार राजनीतिक प्रतिवेदनमाथि छलफलको प्रक्रिया अगाडि नबढेपछि मंसिर १८ गते बसेको स्थायी समितिको बैठक स्थगित गर्दै २१ गतेका लागि सारिएको छ ।

ओलीको अनुपस्थितिकै कारण पूर्वनिर्धारित स्थायी समिति बैठक प्रभावित बनेको छ । पार्टीभित्र विवाद चर्किंदै गएको र अध्यक्ष ओलीले बैठकमा सहभागिता जनाउन नै आनाकानी गरेपछि मंसिर १८ गतेका लागि तय भएको स्थायी समिति बैठक प्रभावित बनेको हो ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बुधबारको बैठकमा आउने सहमति जनाएर पनि अध्यक्ष ओली बैठकमा सहभागी नभएको बताए । बैठकमा पनि ओली नआएपछि सचिवालय बैठक मंसिर २० गतेसम्मका लागि स्थगित गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्रवक्ता श्रेष्ठका अनुसार पार्टीमा देखापरेको संकट र विद्यमान समस्या समाधानका लागि ओलीको समेत उपस्थितिमा छलफल गर्नु आवश्यक, उपयुक्त र उचित हुने निष्कर्षका लागि २० गतेको बैठकमा अनिवार्य उपस्थिपतिको अपेक्षासहित उपस्थित हुन अनुरोध गर्ने निर्णय गरिएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्