Logo

दुवै अध्यक्ष रक्षात्मक



काठमाडौं, मंसिर १८ । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवादमा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल दुवै पक्ष अहिले रक्षात्मक बनेका छन्। एक महिनादेखिको रस्साकस्सी गरिरहेका दुवै पक्षले जस–अपजसबाट जोगिन रक्षात्मक रणनीति अख्तियार गरेका हुन्।

ओलीले कात्तिक २८ को सचिवालय बैठकमा दाहालको प्रतिवेदनलाई व्यक्तिगत कुण्ठासहितको आरोपपत्र भन्दै त्यसलाई छलफलको विषय बनाउन नमानेको र दाहालले पनि सो प्रतिवेदन फिर्ता गर्न नचाहेको अवस्थामा मंगलबारको बैठक बिनानिष्कर्ष टुंगिएको थियो। ओलीले आउन नभ्याउने बताए पनि दाहालले बुधबारका लागि बैठक आह्वान गरेका थिए। सो बैठकमा ओलीबाहेक सबै उपस्थित भए। उनीहरूले सचिवलाय बैठक २० गते र स्थायी कमिटीको बैठक २१ गतेका लागि सारेका छन्।

‘बैठकमा ओलीलाई समर्थन गरिरहेका सचिवालय सदस्यद्वय ईश्वर पोखरेल र रामबहादुर थापा तथा महासचिव विष्णु पौडेल बैठकमा उपस्थित भएर बैठक सार्न र सहमतिको बाटो खोज्न अनुरोध गर्नु भनेको ओली पक्ष रक्षात्मक भएर उपस्थित हुनु हो भने पार्टीभित्र प्रतिपक्षीको भूमिकामा रहेका नेताहरूले पनि सहमतिकै लागि भनेर समय दिनु भनेको उनीहरू पनि रक्षात्मक हुनु हो। यसर्थ दुवै पक्षले मध्यमार्गी भूमिका खोजेको देखियो,’ स्थायी कमिटीका एक सदस्यले भने। उनका अनुसार दुई दिनपछि दुवै पक्षले अनौपचारिक रूपमा समन्वय गरेर केही सहमति गरी बैठक सञ्चालनमा ल्याउनेछन्। ‘दुर्घटनाभन्दा बैठक स्थगित गर्दा नै उपयुक्त हुन्छ भन्ने दुवै पक्षको रणनीति रहेको पनि ती नेताको भनाइ रहेको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्