Logo

किन खुलेनन् काठमाडौंका सबै विद्यालय



काठमाडौं, मंसिर १८ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिडको जोखिम बढ्दै गएकाले मंसिरपछि विद्यालय खोल्दा थोरै विद्यार्थी भएको ठाउँमा र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मात्र खोल्ने निर्णय गरेको छ ।

मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बुधबार कोरोना संक्रमितको तथ्यांक प्रस्तुत गर्दै यस्तो सूचना दिएका हुन् । उनले सरकारले नखोल्ने भनेका बढी भिडभाड हुने सिनेमा हल, रात्रिकालीन व्यवसाय, सभासम्मेलन जस्ता क्षेत्रमा थप १५ दिनसम्म कडा रूपमा प्रतिबन्ध लगाएको जानकारी दिए ।

‘सरकारले नखोल्ने भनेका क्षेत्र थप १५ दिन खोल्न नपाइने र त्यसपछि पनि अवस्था हेरेर निर्णय हुने छ,’ प्रवक्ता गौतमले भने, ‘मंसिरपछि विद्यालय खोल्दा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मात्र खोल्ने स्वास्थ्य मन्त्रालयको निर्णय हो । यो निर्णय स्वास्थ्य सेवा विभागसँग सहकार्य गरी सिसिएमसीलाई लेखेर पठाइने निर्णय भएको छ ।’

कोभिड–१९ को बढ्दो जोखिमका कारण आठ महिनादेखि रोकिएको कक्षा १२ को अन्तिम परीक्षा मंगलबार सम्पन्न भएको छ । विद्यालयहरूले राष्ट्रिय परीक्षा बोर्डकै निर्देशनमा प्रविधिको पूर्ण प्रयोग गरी स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय अपनाएर विद्यार्थीको भौतिक उपस्थितिकै आधारमा परीक्षा सम्पन्न गरे ।

अब यही परीक्षाको सफलताको आधारमा काठमाडौंका विद्यालयले विद्यार्थीको उपस्थितिमा आलोपालो गरी कक्षा सञ्चालनका लागि सबै तयारी गरिसकेका छन् । तर काठमाडौं महानगर भने काठमाडौंमै जोखिम बढी रहेकाले विद्यालय खोल्ने पक्षमा छैन ।नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्