Logo

आइजीपी शैलेश थापा र ‘भावी आइजीपी’ विश्वराज पोखरेलको ट्युनिङ मिलेपछि…



काठमाडौं, १८ मंसिर । नेपाल प्रहरीमा आइजीपी शैलेश थापा क्षेत्री र ‘भावी आइजीपी’ विश्वराज पोखरेलको ट्युनिङ मिलेको छ । दुवैको ट्युनिङ मिलेकाले क्षेत्रीपछि रोलक्रममा पोखरेल आइजीपी बन्ने गरी राखिएका छन् । उनको एआइजीमा बढुवा सिफारिश पनि भएको छ ।

आइजीपी सर्वेन्द्र खनालको पालामा क्षेत्री र पोखरेलले मिलेर काम गरेका थिए । उनीहरु आलोपालो प्रवक्ता समेत भए । त्यतिबेलाका आइजीपी खनालले विश्वास गरेका अधिकृतका रुपमा क्षेत्री र पोखरेल चिनिन्छन् । उनीहरु चेन अफ कमान्डलाई मान्दै आएका व्यवसायिक प्रहरी अधिकृतका रुपमा चिनिन्छन् । राम्रो छवि बनाएका दुवैको यसपट पनि ट्युनिङ मिलेको छ । जसका कारण गृह मन्त्रालयको बढुवा समितिले एआइजीमा विश्वराज पोखरेलको नाम सिफारिश गरेको थियो । समितिमा गृह सचिव र आइजीपी पनि रहन्छन् ।

पोखरेललाई नेतृत्वमा बढाउनका लागि सरकारले एकजना एआइजीको दरबन्दी थपेको थियो । ३ मसिरमा एक एआजीको दरबन्दी थप्ने मन्त्रिपरिषदको निर्णय विश्वराजलाई नै लाइनमा राख्नका लागि थियो भन्ने देखिएको थियो । नभन्दै पोखेलको बढुवा सिफारिश भयो । अब उनको बढुवाको निर्णयलगत्तै नेपाल प्रहरीमा चारजना एआइजी हुनेछन् । हालका एआइजीहरु हरिबहादुर पाल, निरजबहादुर शाही र प्रद्युम्न कार्की आइजीपी शैलेश थापा क्षेत्रीका ब्याची हुन् । पोखरेल त्यसपछिको ब्याची हुन् । उनले आइजीपी क्षेत्रीका ब्याचीलाई उछिनेर विगतमै डिआइजीमा बढुवा पाएका थिए ।

पोखरेल आइजीपी क्षेत्रीसहितको उनका ब्याचीहरु २०७९ वैशाखमा सेवानिवृत्त भएपछि आइजीपी बन्ने निश्चितप्रायः भएको छ । उनका ब्याचीहरु केही महिना अघिमात्र डिआइजीमा बढुवा भएका छन् । पोखरेलका लाग आइजीपीको ढोका खुलेमा २० वैशाख २०७९ देखि २९ चैत्रसम्म गरी ११ महिना प्रहरीको नेतृत्व सम्हाल्नेछन् ।

पोखरेल इन्स्पेक्टर हुँदा नै इञ्चार्ज पाउँदा सफलताका साथ कार्यसम्पादन गरेका थिए । उनी डिएसपी हुँदा बानेश्वर वृत्तको इञ्चार्ज थिए । मोरङ प्रहरी प्रमुख समेत बनेका पोखरेल महानगरीय प्रहरी परिसर काठमाडौंको प्रमुख, प्रहरी प्रवक्ता हुँदै महानगरीय प्रहरी कार्यालय रानीपोखरीको प्रमुख समेत भए । काममा अहोरात्र खटिनसक्ने प्रहरी अधिकृतका रुपमा पोखरेलको परिचय बनेको छ । उनी पूर्व आइजीपीहरुले पनि रुचाएका अधिकृत हुन् । काममा असाध्यै खटिने, समन्वयकारी र साहसी प्रहरी अधिकृत भएकैले पोखरेलले प्रहरीको कमाण्ड सम्हाल्नसक्ने मार्गमा आफूलाई उभ्याउन सकेका हुन् ।



प्रतिक्रिया दिनुहोस्