Logo

कुमार पौडेलको परिवारले भन्योः किटानी जाहेरी लिन नमानेपछि अदालतमा आयौं, न्यायमा ढिलाई नहोस्



काठमाडौं, १८ मंङसिर । सर्लाहीमा गतवर्ष मारिएका कुमार पौडेलको परिवारले न्याय नपाएको भन्दै मानवअधिकारवादी, सञ्चारकर्मीलाई सहयोगको आग्रह गरेका छन् । आफूहरुले पटक पटक जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिंदा समेत नलिएको र सरकारी वकिल कार्यालयले समेत जाहेरी लिन नमानेपछि सर्वोच्च अदालतसम्म आइपुगेको बताए । अब आफूहरुलाई न्याय दिलाउन ढिलाई नगर्न भने ।

‘जिल्ला प्रहरी कार्यालय सर्लाही र सरकारी वकिल कार्यालयले जाहेरी लिन नमानेपछि हामी सर्वोच्च अदालतमा आइपुगेका छौं,’ कुमार पौडेलकी पत्नी कला पौडेलले रिपोर्टर्स क्लब नेपालमा भनिन्,‘हामीलाई न्याय चाहियो ।’ मानवअधिकार आयोगले पनि गैरन्यायिक हत्या भनिसकेको अवस्थामा किटानी जाहेरी लिएर दोषीमाथ अनुसन्धान गरी कारबाही गर्नुपर्ने माग गरिन् । उनले गलत आरोप लगाएर आफ्ना पतिलाई पक्राऊ गरी हत्या गरिएको भन्दै घटनामा संलग्न कसैले उन्मुक्ति पाउन नहुने बताइन् ।

कुमार पौडेलकी आमा दुर्गादेवी पौडेलले हत्यामा संलग्नहरु शिर उठाएर हिडिरहेको भन्दै तत्काल कारबाहीको माग गरिन् । न्यायका लागि लामो समयदेखि लडिरहेको भन्दै कारबाहीमा ढिलो गर्न नहुने बताइन् । उनले रुँदै भनिन्, ‘मेरो निर्दोष छोराको हत्या गर्नेमाथि कहिले कारबाही हुन्छ ?’ कुमार पौडेललाई हत्या गर्नेमाथि कारबाही नभएसम्म आफूहरु न्यायका लागि लडिरहने बताइन् ।

कुमार पौडेलका भाई हरिकृष्ण पौडेलले सर्लाही प्रहरी र सरकारी वकिल कार्यालयले जोहेरी लिन नमानेपछ िसर्वोच्च अदालतमा रिट दायर गरेपछि अदालत कारबाही अगाडि बढेकोमा आशा व्यक्त गरे । उनले न्यायको लडाईंमा निरन्तरता दिइरहने र दोषीलाई कारबाही गरेरै छाड्ने दृढता व्यक्त गरे ।

२०६६ साल असार ५ गते सर्लाही लालबन्दी नगरपालिका–१ का कुमार पौडेलको प्रहरी मुठभेठमा मारिएको भनी प्रहरीले दाबी गरेकोमा राष्ट्रिय मानवअधिकार अयोगले गैरन्यायिक हत्या ठहर गरेको थियो । आयोगले दोषीको नाम किटान गरी कारबाहीको सिफारिश समेत गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्