Logo

नेपाल-भारत सम्बन्धमा प्रगतिः भारतीय विदेशमन्त्री जयशंकर



काठमाडौं, १८ मंसिर । भारतीय विदेश मन्त्री एस जयशंकरले नेपाल र भारतबीचकोको विवादमा सुधार आइसकेको बताएका छन् । दुई देशबीच केही विषयमा विवाद रहेपनि पछिल्लो साता दुवै राष्ट्र अघि बढिसकेको बताएका छन्।

द हिन्दुका लागि दिएको अन्तर्वार्तामा उनले दुई देशबीच केही समस्या भएपनि ती छिट्टै हल हुने बताएका छन् ।

जयशंकरले विश्वभर नै छिमेकी राष्ट्रहरुबीच समस्या हुने भन्दै भने, ‘समस्याहरु हुन्छन्। दुई छिमेकी राष्ट्रबीच समस्य नभएको कहाँ छ, मलाई देखाउनुस्। हाम्रो अधिकांश छिमेकी राष्ट्रहरुमा लोकतान्त्रिक प्रणाली छ। मुख्य कुरा के हो भने उनीहरुको आफ्नो राजनीति छ,हाम्रो आफ्नो छुट्टै राजनीति छ। त्यसैले समस्या त भइहाल्छन्। ती समस्याहरुलाई कसरी समाधान गर्ने भन्ने चाहिँ प्रश्न हो। साझा विन्दु पत्ता लगाएर सम्बन्धमा देखिएको दरारहरुलाई कसरी कम गर्ने भन्नेमा अब सोच्नुपर्छ।’

दुई देशबीचको समस्या समाधानमा अघि बढीसकेको भन्दै उनले भनेका छन् ‘एउटा समय थियो जहाँ हामीबीच समस्याहरु थिए। तर गएको केही हप्तामा नेपाल र भारतले अघि बढ्ने निर्णय गरिसकेको मलाई लाग्छ। यो दुवै राष्ट्रको आपसी हितमा छ।’

पछिल्लो एक वर्षयता भारत र नेपालबीच कालापानी क्षेत्रमा सीमा विवादलाई लिएर सम्बन्ध बिग्रिएको छ । भारत सरकारले गत वर्ष नोभेम्बर २ मा आफ्नो नयाँ राजनीतिक नक्सा सार्वजनिक गर्दै नेपाली भूमि लिम्पियाधुरा, कालापानी, लिपुलेकलाई त्यसमा देखाएको थियो। नेपाल सरकारले कूटनीतिक नोट पठाएर भूमिबारे भारतीय दाबी गलत रहेको भन्दै नक्सा सच्याउन भनेपनि भारतले उक्त भूमि आफ्नै रहेको दाबी गरेको थियो। तर, पछिल्लो समय भारतबाट परराष्ट्रसचिव तथा गुप्तचरका प्रमुख नेपाल भ्रमणमा आएका थिए । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आगामी साता दिल्ली जाँदैछन् ।



प्रतिक्रिया दिनुहोस्