Logo

तनहुँमा देखिएको कांग्रेस : सरकारलाई घुँडा टेकाउने चेतावनी



मंसिर १८, काठमाण्डौ । विवादले उग्र रुप लिएपछि हिजोदेखि तनावग्रस्त बनेको तनहुँको दमौलीमा आज नेपाली कांग्रेसले शक्ति प्रदर्शन गर्यो । सम्भवत एउटा पुल उद्घाटनमा यति धेरै सहभागिता पहिलोपटक हुन सक्छ । सत्तारुढ दल नेकपा र प्रशासनले हिजो शक्तिको आडमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको पूर्वनिर्धारित कार्यक्रममा हस्ताक्षेप गरेपछि त्यसको जवाफ आज कांग्रेस कार्यकर्ताले दिएका छन् ।

तनहुँको बुल्दीखोला पुल उद्घाटनसम्बन्धी विवाद देशैभरि चर्चाको विषय बन्यो । सदरमुकामा दमौलीसमेत समेटिएको व्यास नगरपालिकामा वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकअन्तर्गत बुल्दीखोलामा पुल उद्घाटनको विषयले केन्द्रिय राजनीति नै तरंगित बन्यो । तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत पर्ने पुलको उद्घाटन यस क्षेत्रका संघीय सांसद कृष्णकुमार श्रेष्ठले गर्न चाहन्थे ।

तर उपभोक्ता समिति र नगरपालिकाले कांग्रेसका वरिष्ठ नेता पौडेललाई पुल उद्घाटनका लागि निम्तो दियो । कांग्रेसको सरकार बनेका बेला पौडेलको पहलमा बजेट निकासा भई पुल निर्माण भएको थियो । नेकपाले चाहिँ संघीय संसदमा विजय हासिल गरेका जनप्रतिनिधिले उदघाटन गर्नुपर्ने तर्क गर्दै आएको थियो । कांग्रेस र नेकपावीचको यही टकरावका कारण बुधबार दिनभर दमौली तनावग्रस्त बन्यो ।

पौडेललाई पुल उद्घाटन गर्नबाट जसरी रोक्ने रणनीति लिएको नेकपाले जिल्ला प्रशासन कार्यालयलाई कब्जामा लिएको कांग्रेसले आरोप लगायो । किनकी प्रशासनले पुल उद्घाटन कार्यक्रम रोक्न निषेधाज्ञा नै जारी गर्यो र पौडेललाई पक्राउ गर्यो ।

वरिष्ठ नेता पौडेल पक्राउ परेपछि देशभर यसले तरंग ल्याएको थियो । कांग्रेसले आन्दोलनका कार्यक्रम नै घोषणा ग¥यो । सरकारले अधिनायकवादी रबैया देखाएको भन्दै बिहीबार दमौलीमा प्रदर्शन गरेर विशाल जुलुसहित अन्ततः वरिष्ठ नेता पौडेलले पुलको उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले कम्युनिस्ट सरकारका नाममा भएको हिजोको घटनाले लोकतन्त्र र गणतन्त्र नै लज्जित भएको बताए । उक्त घटनाले देशभरि तरंग आएको भन्दै उनले प्रजातन्त्रवादीहरु सडकमा उत्रिएर आन्दोलित हुन पुगेको दावी गरे ।

जिल्ला प्रशासन कार्यालय तनहुँले बुधबार आफूविरुघ बल प्रयोग गरे पनि विहिबार कांग्रेस कार्यकर्ताको भिड देखेर डराएको पौडेलको तर्क थियो । प्रधानमन्त्री केपी ओली देश र लोकतन्त्रका लागि नभएर मुद्धामा जेल परेको पौडेलले आरोप लगाए । बयलगाडा चढेर गणतन्त्र आउँदैन भन्ने मान्छे आज राष्ट्रवादको हिरो बन्न खोजेको पौडेलले बताए । उनले कम्युनिस्टको हातमा लोकतन्त्र सुरक्षित नभएको दाबी गरे । लोकतन्त्र सुरक्षित गर्ने आन्दोलनको सुरुवात भएको पौडेलले बताए ।

बुधबार नेकपा र प्रशासनको पेलानमा परेको कांग्रेसले विहिबार भने राम्रैसँग शक्ति प्रदर्शन गर्यो । पौडेल पक्राउ परेपछि सभापति शेरबहादुर देउवाले विज्ञप्ति नै निकालेर सरकारविरुद्ध आन्दोलन चर्काउने चेतावनी दिएका थिए ।

विहिबार उद्घाटन कार्यक्रम सम्पन्न गर्ने लक्ष्य लिएपछि काठमाण्डौमा रहेका तनहुँबाट केन्द्रमा स्तापित भएका कांग्रेस नेताहरु शंकर भण्डारी, प्रदिप पौडेल, गोविन्द भट्टराई लगायत विहानै सदरमुकाम दमौली पुगेका थिए । उनीहरुले संघी सरकारका प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रामबहादुर थापा, जिल्ला प्रशासन कार्यालय तनहुँ, नेकपाका सांसद श्रेष्ठलगायतलाई चुनौति दिएका थिए ।

केन्द्रीय सदस्य शंकर भण्डारीले गृह सचिवको आदेशका कारण पौडेल पक्राउ गर्नुपरेको जानकारी प्रमुख जिल्ला अधिकारी सागर आचार्यले गराएको उल्लेख गरे । तरुण दलले गृह सचिवको तीन पुस्ते विवरण राखेको भन्दै भण्डारीले भोलि नेपाली कांग्रेस फेरि सरकारमा आउने कुरालाई नबिर्सन चेतावनी दिए ।

केन्द्रीय सदस्य गोविन्द भट्टराईले एउटा पुल उद्घाटन गर्न खोज्दा निषेधाज्ञा गरेर निषेधाज्ञा भन्ने शब्दकै ठूलो बेइज्जत भएको बताए । कम्युनिस्टसँग लड्नैपर्ने भएकाले कांग्रेससँग लड्नुको विकल्प नभएको नेता भट्टराईको भनाइ छ ।

केन्द्रीय सदस्य प्रदीप पौडेलले तनहुँमा बुधबार भएको घटना सीडीओ वा प्रशासनले घटाएको घटना नभएर कांग्रेसलाई दमित गर्ने नेकपा प्रवृत्तिले घटेको बताए । सिडियो आचार्यले गलत काम गरेकाले तनहुँबाट सरुवा भएर अन्तै जान पौडेलले सुझाब दिएका छन् ।

कार्यक्रममा गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल, आमन्त्रित केन्द्रीय सदस्य ध्रुव वाग्ले, व्यास नगरपालिकाका मेयर तथा कांग्रेस जिल्ला सभापति वैकुष्ठ न्यौपानेलगायतले पौडेल पक्राउ घटनाको चर्को विरोध गरेका थिए ।

कांग्रेसले शक्ति प्रदर्शनसहित उद्घाटन कार्यक्रम तय गरेपछि विहिबार प्रशासनले कुनै अवरोध गरेन । अघिल्लो दिन अबरोध पुर्याएको सत्तारुढ दल नेकपा निकट राष्ट्रिय युवा संघ तनहुँको पनि उपस्थिती देखिएन ।



प्रतिक्रिया दिनुहोस्