Logo

रुसमा एकैदिनमा २८ हजारभन्दा बढी सङ्क्रमित



१८ मङ्सिर: रुसमा कोरोनाभाइरसबाट एकैदिनमा थप २८ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो एकैदिनमा २८ हजार १४५ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका हुन् ।

यसअघि अघिल्लो दिन एकैदिनमा २५ हजार ३४५ जना सङ्क्रमित भएको विवरण सार्वजनिक गरिएको थियो । रुसमा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको कुल सङ्ख्या २३ लाख ७५ हजार ५४६ पुगेको छ ।

यसअघि गत नोभेम्बर २७ तारिखमा एकैदिन २७ हजार ५४३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका थिए । “पछिल्लो २४ घण्टामा रुसमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको सङ्ख्या २८ हजार १४५ थपिएको छ,” सरकारी अधिकारीहरुले भनेका छन् ।

थपिएका सङ्क्रमितहरु मध्ये सात हजार ७५० जना केन्द्रीय राजधानी मस्कोमा मात्रै थपिएको पनि अधिकारीहरुले जनाएका छन् । यस अवधिमा रुसमा थप ५५४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । अघिल्लो दिन यो भन्दा धेरै ५८९ जनाको मृत्यु भएको थियो ।

कोरोनाभाइरस विरुद्धको खोप बनाएको दाबी गरेको रुसमा अहिलेसम्म कोरोनाका कारण ४१ हजार ६०७ जनाको मृत्यु भइसकेको छ ।-एएनआई/Photo: Agency



प्रतिक्रिया दिनुहोस्