Logo

नेकपा विवाद मिलाउन राष्ट्रपति सक्रिय, विहान ओली र बेलुका प्रचण्डसँग भेट



काठमाडौं, १८ मंसिर । आज विहान प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगे । ओलीले भण्डारीसँग नेकपा विवादबारे दुई घन्टा छलफल गरे । दुवैबीच समस्या समाधानको विकल्पमा छलफल भएको बुझिएको छ ।

ओलीको कुरा सुनेपछि राष्ट्रपति भण्डारीले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई शितलनिवासमा बोलाइन् । साँझ शितलनिवास पुगेर प्रचण्डले गम्भीर छलफल गरे । नेकपा विवाद समाधानबारे छलफल केन्द्रित भएको बुझिएको छ ।

आज एकै दिन विहान र बेलुका नेकपाका दुई अध्यक्षलाई भेटेर राष्ट्रपति भण्डारीले नेकपा विवाद समाधान गर्न भुमिका खेल्न थालेकी छिन् । यद्यपि राष्ट्रपति निकट स्रोतले यसलाई सामान्य भेट भनेको छ ।

राष्ट्रपति भण्डारीले यसअघि पनि नेकपा विवाद हुँदा ओली र प्रचण्डबीच सहमति बनाउन भुमिका खेलेकी थिइन् । गत वर्ष मंसिर ४ मै राष्ट्रपति भण्डारीकै पहलमा ओली र प्रचण्डबीच सरकार र पार्टी सञ्चालनको कार्यविभाजनबारे सहमति भएको थियो । त्यसपछि दुईपटकको विवादमा पनि उनले नै कुरा मिलाएकी थिइन् । यसपटक पनि भण्डारीको सक्रियताले नेकपा विवादले नयाँ मोड लिने देखिएको छ ।

भण्डारीले प्रधानमन्त्री ओलीसँग पटक पटक भेटिसकेकी छिन् । उनले उपाध्यक्ष बामदेव गौतमलाई पनि बेला बेलामा शितलनिवास बोलाएर छलफल गर्दै आएकी छिन् । यसपटक तीन दिनको अल्टिमेटम दिएर प्रचण्डसहितको ओलीविरोधी मोर्चाले सचिवालय बैठक डाकेपछि सहमति निकाल्न सबै कोणबाट प्रयास भइरहेको छ । यस क्रममा राष्ट्रपति भण्डारीले विशेष पहल गर्न थालेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्