Logo

मंसिर २९ गते सरकारविरुद्व देशभर प्रदर्शन : ओली लोकतन्त्रप्रति प्रतिबद्ध नभएको निष्कर्ष



काठमाडौं, १९ मंसिर ।  प्रमुख विपक्षी नेपाली कांग्रेसले सरकारविरुद्ध २९ मंसिरमा देशभर प्रदर्शन गर्ने भएको छ । पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकले तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि भएको दुव्यर्वहार र धरपकडको भत्र्सना गरेको छ । कांग्रेसले तनहुँ घटनाका साथै कोभिड १९ रोकथाम तथा उपचारमा अव्यवस्थापन र भ्रष्टाचारको मुद्दालाई लिएर २९ गते ७७ जिल्लामै प्रदर्शन गर्ने निर्णय गरेको हो ।

त्यसैगरी सरकारको दमन नीतिविरुद्ध आन्दोलन गर्ने निर्णय गरेको कांग्रेसले जनाएको छ । बैठकपछि बरिष्ठ नेता पौडेलले राज्यले दमककारी र राज्य सर्वसत्ताबाद तर्फ जान लागेको भन्दै कांग्रेसले विरोध गर्न लागेको बताए । पौडेलले सरकार प्रतिगमनतर्फ उन्मुख रहेको भन्दै अब योभन्दा धेरै सहन नसक्ने र आफूमाथि भएको प्रहरी दमन सरकारी नीति अन्तरगत नै भएको जिकिर गरे । पौडेलले सरकारलाई सचेत गराउन एकदिने बिरोध कार्यक्रम राखिएको जानकारी पनि दिए ।

पौडेलले तनहुमा भएको पक्राउ र दमनको घटनापछि आफु अझैपनि स्वस्थ्य नभएको र दुखाई कायम रहेको दुखेसो गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली लोकतन्त्रप्रति प्रतिबद्ध नरहेको भन्दै पौडेलले ओलीलाई व्यवाहारले आफू लोकतन्त्रबादी भएको पुष्टि गर्न चुनौती दिएका छन् । त्यसैगरी बैठकले संघीय संसदको अधिवेशन छिटो बोलाउन सरकारको ध्यानाकर्षण समेत गराएको छ ।

जटिलता र चुनौतीपूर्ण अवस्थामा सरकार आफ्नै दलको द्वन्द्वमा अलमलिएको भन्दै कांग्रेसले जनजीविकाका मुद्धाहरु उठाउने थलो संसदको अधिवेशन छिट्टो बोलाउनुपर्नेमा जोड दिएको छ । पार्टीको पहिलो बैठकबाट आन्तरिक कुरालाई टुङ्ग्याएर अधिवेशनका विषयमा पनि छलफल गर्ने जानकारी दिँदै त्यसपछि विरोधका सशक्त कार्यक्रमलाई अघि बढाउने पौडेलले बताए ।



प्रतिक्रिया दिनुहोस्