Logo

प्रचण्ड-नेपाल पक्षको भेला : ओली पक्षले गलत गरेको आरोप



मंसिर १९, काठमाण्डौ । नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली बहुमतबाट भाग्न नमिल्ने बताएकी छिन् । शुक्रबार थापाथली क्याम्पसमा नेकपाका प्रचण्ड–नेपाल पक्षको बिद्यार्थी भेलापछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै शाक्यले ओलीले सहमतिमा आउनुपर्ने कि बहुमतको निर्णय स्वीकार गर्नुपर्ने बताएकी हुन् ।

शाक्यले प्रधानमन्त्री ओली अब बहुमतबाट कसैगरी भाग्न नमिल्ने उल्लेख गरिन् । राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो सक्रियता पनि अस्वाभाविक रहेको भन्दै उनले पार्टीभित्र चलखेल गर्न नमिल्ने स्पष्ट पारिन् । उनले पार्टीभित्रको बहसले नै पार्टीलाई एकढिक्का बनाउने निष्कर्ष निस्कने विश्वास व्यक्त गरेकी छिन् ।

भेलामा नेकपा नेतृ रामकुमारी झाँक्रीले पार्टीमा विद्रोह सुरु भएको बताइन् । उनले सचिवालयलमा साझा प्रस्ताव आउने संभावना पनि कम रहेको उल्लेख गरेकी छिन् ।

त्यस्तै नेकपाका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले नेतृत्वको कारण आम नागरिकमा पार्टीप्रतिको धारणा नकारात्मक बनेको बताए । न्यौपानेले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले गरेका काम र पार्टी दस्तावेज समाजवाद उन्मुख नभएको उल्लेख गरे ।

नेकपाको विवाद चर्किएका बेला प्रचण्ड–नेपाल पक्षको भेला सम्पन्न भएको हो ।

भोली बैठक :
सत्तारुढ दल नेकपाको सचिवालय बैठक भोली बस्दैछ । विवाद बढेर दुई अध्यक्षबिचको बोलचाल नै बन्द भएको अवस्थामा भोलि बैठक बस्न लागेको हो । विवादका बिच गत बुधबार बोलाइएको सचिवालय बैठकमा केपी ओली उपस्थित नभएपछि भोलिका लागि अर्को मिति तय गरिएको हो । ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालको प्रतिवेदन फिर्ता गर्नुपर्ने माग गर्दै आएका छन् ।

दाहालले आफूमाथि झुटा आरोप लगाएर प्रतिवेदनको नाममा सचिवालयमा पेश गरेको भन्दै ओली रुष्ट बनेका छन् । यद्यपी ओलीले पनि दाहालको प्रतिवेदनको लिखित जवाफस्वरुप अर्को प्रतिवेदन सचिवालयमा पेश गरिसकेका छन् । दुवै अध्यक्षको प्रतिवेदनमाथि छलफल गर्न भन्दै सचिवालय बैठक बोलाइएको हो । प्रतिवेदन नै उचित नभएकाले छलफल पनि आवश्यक नरहेको धारणा व्यक्त गरेका ओली भोलिको बैठमा उपस्थित हुन्छन वा हुँदैनन् भन्ने निश्चित छैन ।

यसबीचमा दुई अध्यक्षबीचको टकराब अन्त्य गराउन दोस्रो तहका नेताहरु सक्रिय भए पनि अहिलेसम्म कुनै नतिजा देखिएको छैन । हिजो ओली र दाहाल दुवैले राष्ट्रपति विद्यादेवी भण्डारीसँग छुट्टाछुट्टै भेट गरेका थिए । ओलीले अब पनि प्रतिवेदनमाथिको छलफललाई बहिस्कार गरेर बहुमतका आधारमा अघि बढ्ने रणनीति दाहाल पक्षको छ । दाहाललाई वरिष्ठ नेताद्धय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले साथ दिएका छन् भने ओलीको पक्षमा महासचिव विष्णु पौडेल र ईश्वर पोखरेल रहेका छन् । रामबहादुर थापा भने खुलेरै कसैको पक्षमा पनि लागेको देखिदैन ।



प्रतिक्रिया दिनुहोस्