Logo

गोयल, नरवणे र श्रृंगलाको भ्रमणपछि नेपाल–भारत सम्बन्ध नयाँ उचाईमा



मंसिर १९, काठमाण्डौ । सिमा विवादले तिक्तता बढेको नेपाल भारत सम्बन्धमा विस्तारै सकारात्मक संकेत देखिन थालेको छ । पछिल्लो डेढ महिनाको अवधिमा भारतबाट तीन जना उच्च अधिकारीले भ्रमण गरेका छन् । अब नेपालबाट पनि परराष्ट्रमन्त्री भारत जाने चर्चा छ । भारततर्फबाट नेपालसँगको सम्बन्ध सुधारका अभिव्यक्तिहरु पनि आउन थालेको छ ।

कात्तिक ५ गते भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्त कुमार गोयल नेपाल आए । केही घन्टाको भ्रमणको लागि काठमाडौँ आएका गोयलले प्रधानमन्त्री केपी ओलीसँग भेटेर फर्किएका थिए । उनको भ्रमण गोप्य र रहस्यमय बनाइएको भन्दै आलोचित भयो । तर पनि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दूतको रुपमा गोयललाई पठाएको नेपाल सरकारको दावी छ । उक्त भेटमा के कुराकानी भयो भन्ने सार्वजनिक गरिएन ।

कात्तिक १९ गते भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणे नेपाल आए । नेपाली सेनाको निमन्त्रणमा नरवणे नेपाल आएका थिए । उनले प्रधानमन्त्री ओलीसँग पनि भेट गरे । नरवणेले आफ्नो भ्रमणले दुई देशका सेनाबीचको सम्बन्ध बलियो हुने विश्वास व्यक्त गरेका थिए । तर प्रधानमन्त्रीसँगको भेटमा सेनाको सम्बन्ध मात्र नभै दुई देशबीचकै सम्बन्धबारे कुराकानी भएको थियो ।

मंसिर ११ गते भारतीय विदेश विदेश मन्त्रालयका सचिव हर्षबर्धन श्रृंगला नेपाल आए । उनको भ्रमणको उद्धेश्य भने गोयल र नरवणेको जस्तो सामान्य थिए । श्रृंगला भारत सरकारकै प्रतिनिधित्व गरेर नेपाल आएका थिए । उनले प्रधानमन्त्री ओलीसँगको भेटमा दुई देशबीचको सम्बन्धमा देखा परेका समस्या समाधानबारे कुरा गरेका थिए । प्रधानमन्त्री ओलीले सीमा विवादका सम्बन्धमा उच्चस्तरीय वार्ता गर्नुपर्नेमा जोड दिएका थिए । जवाफमा श्रृगलाले वार्ता नै विवाद समाधानको आधार भएकाले भारत छलफलका लागि तयार भएको जवाफ दिएका थिए ।

सम्बन्ध सुधार्नकै लागि भारतले उच्चस्तरीय भ्रमणमा चासो दिएको जानकारहरु बताउँछन् । भ्रमणको सिलसिलासँगै भारततर्फबाट नरम अभिव्यक्तिहरु आउन थालेका छन् । विहिबार मात्रै भारतका विदेशमन्त्री एस जयशंकरले विगतमा नेपालसँग केही असमझदारीहरु भए पनि पछिल्ला दिनमा दुवै देशबीच समझदारी विकास हुँदै गएको बताएका थिए ।

भारतीय अंग्रेजी दैनिक द हिन्दुसँगको अन्तर्वार्तामा नेपालसँगको सम्बन्धको प्रसंगमा विदेश मन्त्री जयशंकरले सम्बन्ध सुधार गर्नुको विकल्प नभएको आशय व्यक्त गरेका थिए । नेपालका परराष्ट्र मामिला जानकाहरुले पनि भारतसँगको सम्बन्ध सुधार गर्नुको विकल्प नभएको प्रतिक्रिया दिने गरेका छन् । नेपाल र भारत एक अर्काका लागि महत्वपूर्ण मित्रराष्ट्र र छिमेकी भएको पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशचन्द्र लोहोनी बताउँछन् ।

दुई देशबीचको सीमा समस्या औपचरिक कार्यसूचीमा समावेश
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले छिमेकी चीन र भारतबाट हालै भएका उच्चस्तरीय नेपाल भ्रमण उपलब्धिमूलक भएको बताएका छन् । प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध समितिको शुक्रबारको बैठकमा उनले दुवै देशबाट भएका भ्रमण द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउन र आपसी सहयोग अभिवृद्धि गर्न महत्वपूर्ण रहेको जानकारी दिए ।

भारतीय विदेश सचिव श्रृङ्गलाको भ्रमण कोभिड–१९ को सङ्क्रमणपछि नेपाल र भारतबीच रोकिएका द्विपक्षीय भ्रमणको शुरुआत भएको जनाउँदै मन्त्री ज्ञवालीले भ्रमणमा दुई देशबीचको सीमा समस्या औपचरिक कार्यसूचीमा समावेश गरिएको दावी गरेका छन् । नेपाल–भारत संयुक्त समितिको बैठक चाँडै हुने र दुवै देशबीचका थाती रहेका विषय सो बैठकमार्फत यथाशक्य समाधान गर्न पहल गरिने उनको भनाइ थियो ।

बैठकमा सत्तारुढ नेकपाका सांसद भीम रावलले भारतको गुप्चतर संस्था ’रअ’ का प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेको भेटप्रति आपत्ती जनाएका थिए । भारतले विगतदेखि नै गुप्तचर संस्थामार्फत नेपालमा सुक्ष्म व्यवस्थापन गर्दै आएको र त्यसको जनताको स्तरबाट विरोध भएको स्मरण गर्दै रावलले आगामी दिनमा त्यस्ता गतिविधि दोहोरिन नदिने गरी अगाडि बढ्नुपर्ने सुझाब दिए ।

यसैगरी चीनका रक्षामन्त्री वेइको नेपाल भ्रमण सैनिक सहयोग आदानप्रदान गर्न र द्विपक्षीय सम्बन्ध थप सुदृढ गर्न महत्वपूर्ण भएको सरकारले दावी गरेको छ ।

मन्त्री ज्ञवालीले गत वर्ष चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका बेला भएका सम्झौतालाई गति दिन पनि सो भ्रमण फलदायी भएको बताएका हुन् । त्यस्तै सांसद प्रकाशमान सिंहले भारतसँग मात्र नभई चीनसँगको सीमा विवादका सम्बन्धमा पनि जिज्ञासा राखेका थिए । समितिका सभापति पवित्रा निरौलाले समितिको अर्काे बैठकमा मुलुकको राष्ट्रिय सुरक्षा नीतिका बारेमा रक्षा मन्त्रालयसँग छलफल गरिने जानकारी दिएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्