Logo

‘फाइभ–जी’का लागि फ्रिक्वेन्सी सिफारिस



काठमाडौं, मंसिर २०। पाँचौँ पुस्ताको मोबाइल प्रविधि (फाइभ–जी) सञ्चालनका लागि आवश्यक फ्रिक्वेन्सी पहिचान गरिएको छ । फाइभ–जी फ्रिक्वेन्सी पहिचानका लागि नेपाल दूरसञ्चार प्राधिकरणले गठन गरेको राष्ट्रिय फ्रिक्वेन्सी व्यवस्थापन फोरमको शुक्रबार बसेको बैठकले विभिन्न ब्यान्डमा फाइभ–जी फ्रिक्वेन्सी सिफारिस गरेको हो ।

समितिले न्यून ब्यान्डअन्तर्गतका सात सय, नौ सय, १८ सय, २३ सय, २६ सय मेगाहर्ज, मध्यम ब्यान्डका ३३ सय, ३४ सय, ३६ सय, ४७ सय मेगाहर्ज र उच्च ब्यान्डको २६ गिगाहर्ज ब्यान्डलाई फाइभ–जी प्रविधिका लागि उपयोग गर्नसक्ने गरी प्राधिकरणलाई सुझाव दिएको छ ।

समितिले सिफारिस गरेका ब्यान्डअन्तर्गत सेवा प्रदायकलाई उपलब्ध गराउन सकिने न्यूनतमदेखि अधिकतम फ्रिक्वेन्सी पनि टुङ्गो लगाएको छ । जसअन्तर्गत न्यून फ्रिक्वेन्सी ब्यान्डहरूमा १० देखि २० मेगाहर्ज, मध्यम ब्यान्डअन्तर्गत एक सय मेगाहर्जसम्म र उच्च ब्यान्डमा एक हजार मेगाहर्जसम्म फ्रिक्वेन्सी दिन सकिने समितिको सिफारिस छ ।

समितिको सिफारिसअनुसार प्राधिकरणले आवश्यक संशोधन गरेर त्यसलाई फ्रिक्वेन्सी निर्धारण गर्ने नेपालको उच्च निकायका रूपमा रहेको रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिसमक्ष सुझावका रूपमा पेस गर्नेछ । उक्त समितिले गरेको निर्णयअनुसार नै फाइभ–जीका लागि नेपालमा उपयोगी फ्रिक्वेन्सीको अन्तिम टुङ्गो लगाएको आजको गोरखापत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्