Logo

शान्ति स्थापनामा अब्बल बन्दै



काठमाडौं, मंसिर २० । कुनै बेला हिंसा दबाउने नाममा आन्तरिक द्वन्द्व बढाउन भूमिका खेलेको भन्दै चौतर्फी आलोचना बेहोरेको नेपाली सैनिक अहिले आन्तरिक द्वन्द्वमा फसेका मुलुकमा शान्ति स्थापनाका लागि खेलिरहेको भूमिकाका कारण अन्तर्राष्ट्रिय रूपमै प्रशंसा बटुल्न सफल भएको छ ।

हालै मात्र संयुक्त राष्ट्रसंघ (युएन) अन्तर्गत शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएको नेपाली शान्ति सैनिकले त्यहाँ हुन सक्ने सम्भावित जातीय हिंसालाई रोकिदिएर युएनका तर्फबाट प्रशंसा कमाएको छ । जातीय द्वन्द र नरसंहारबाट गुज्रिएको उक्त मुलुकमा त्यस्तै प्रकारका घटनाको पुनरावृत्ति हुनबाट जोगाएको भन्दै युएनले नेपाली शान्ति सैनिकको योगदानको उच्च प्रशंसा गरेको हो ।

दक्षिण सुडानको क्युबेटमा तैनाथ कालीध्वज गणअन्तर्गतको टेम्पोररी अपरेटिङ बेस (टिओबी) बाट खटिएका नेपाली शान्ति सैनिकले स्थानीय बासिन्दाबीच हुन सक्ने सम्भावित ठूलो जातीय हिंसा हुन नदिएको हो । गण हेडक्वार्टर तैनाथ रहेको रुम्बेकबाट करिब ७० किमि उत्तर पश्चिमस्थित क्युबेट इलाकानजिकै रहेको क्याटल क्याम्पमा चोरी गर्न आएका कोन्गोर जातिका एक व्यक्तिको झडपमा मृत्यु भएको घटनाले दुई जातीय समुदायबीच हिंसाको रूप लिएको थियो । हिंसा भड्किन सक्ने खबर प्राप्त हुनासाथ टिओबीबाट सहसेनानी विज्ञान विष्टको कमान्डमा खटिएको क्विक रियाक्सन फोर्सले नफ्रीमा दुई पक्षबीच झडप हुनबाट जोगाएको थियो ।

उक्त इलाकाको सुरक्षास्थिति सामान्य भएपछि युएन मिसनका अन्य निकायले त्यहाँ रहेका विभिन्न जातीय समुदायबीच शान्ति कायम गराउने कार्य सुरु गरेका थिए । नेपाली शान्ति सैनिकले आफ्नो कामका कारण प्रशंसा कमाएको यो पहिलोपटक भने होइन । नेपाली सैनिकले विभिन्न मिसनमा हुँदा शान्ति स्थापनाका लागि खेलिरहेको भूमिकाको कदर गर्दै संयुक्त राष्ट्रसंघले मेडल प्रदान तथा सम्मान गर्दै आइरहेको आजको नागरिक दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्